दमक । असार १७ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।
मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा ती पुरुष घोप्टो परेको अवस्थामा मृत भेटिएको स्थानीयले प्रहरीलाई दिएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक करिब ५० वर्षीय संजय सोरेन रहेको खुलेको छ।
उनी करिब ६–७ वर्षअघि भारतको आसामबाट नेपाल आएर सोही क्षेत्रमा ज्यालामजदुरी गर्दै बस्दै आएका थिए।
उनको नेपालमा स्थायी बसोबास नरहेको र जहाँ काम पाउँथे, त्यही घरमा बस्ने गरेको प्रहरीले जनाएको छ।
मृतककी १२ वर्षीया छोरी सुमी सोरेन भने सोही क्षेत्रका एक स्थानीयको घरमा बस्दै आएकी छन्।
मंगलबार दिउँसो भएको यो घटनाको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।









