काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई दिनुभएको जानकारी अनुसार बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता ( Agreement Under the United Nations Convention on the Law of the Sea on the Vonservation and Sustainable Use of Marine Biological Diversity of Areas Beyond National Jurisdiction) (बीबीएनजे) अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो । राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसदसमा पेश गर्न स्वीकृति दिएको छ ।
त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ ।









