बिर्तामोड,२२ असार।
संसद बैठकमा बोल्दै सांसद प्रकाश पाठकले झापाको विर्तामोडस्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा ठप्प भएको बताएका छन्।
उनका अनुसार गत राति ट्रान्सफर्मरमा आगलागी भएपछि विर्तामोड, हल्दीबारी, भद्रपुर र कन्काई लगायतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भई नागरिकहरू लामो समय अन्धकारमा बस्न बाध्य भएका छन्।
सांसद पाठकले भने, ‘४० डिग्रीको प्रचण्ड गर्मीमा नागरिकहरू विद्युतविहीन छन्। नेपाल विद्युत प्राधिकरणले मर्मत कार्य गरे पनि दैनिकजसो सेवा अवरुद्ध हुने, लो–भोल्टेज र ओभरलोडको समस्याले जनजीवन कष्टकर बनेको छ।’
उनले विद्युत आपूर्ति प्रणालीको व्यवस्थापनमा सरकार र नेपाल विद्युत प्राधिकरण गम्भीर नभएको भन्दै तत्काल समस्या समाधान गर्न ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।









