एआई (कृत्रिम बुद्धिमत्ता) को तीव्र विकासले विश्वभर पत्रकारिताको भविष्यबारे बहस चर्किँदै गएको छ। कतिपयले यसलाई रोजगारी खोस्ने खतरा भन्दै डर व्यक्त गरिरहे पनि चीनको कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनका वरिष्ठ सञ्चारकर्मीहरूले भने एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहयोगी प्रविधिका रूपमा व्याख्या गरेका छन्।
विश्वका विभिन्न राजनीतिक दलका नेता, सम्पादक तथा पत्रकारबीच आयोजित अन्तरक्रियामा उनीहरूले एआईको प्रयोग, परम्परागत सञ्चारमाध्यमको भविष्य, गलत सूचनाविरुद्धको रणनीति तथा चीनको सञ्चार विकासबारे आफ्ना धारणा राखेका हुन्।
कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनका उपमहानिर्देशक लियु चिङयुआनले एआईले पत्रकारको जागिर खोस्ने कुनै जोखिम नरहेको दाबी गर्दै यसलाई प्रसारण गुणस्तर सुधार्ने सहायक उपकरणका रूपमा प्रयोग भइरहेको बताए। उनका अनुसार समाचार प्रसारणका क्रममा हुने प्राविधिक त्रुटि एआईले तुरुन्तै संकेत गर्ने भएकाले कार्यक्षमता बढेको छ।
उनले भने, “हामी एमसिआरमा एआई प्रयोग गरिरहेका छौँ। १० वटा टेलिभिजन च्यानललाई सीमित जनशक्तिबाट सञ्चालन गर्न सक्नुमा एआईको ठूलो योगदान छ।”
स्टेशनले डिपसिकलगायत विभिन्न एआई उपकरण प्रयोग गरिरहेको जनाइएको छ। एआईले भाषान्तरण, अडियोलाई पाठमा रूपान्तरण, प्रारम्भिक सम्पादन तथा ग्राफिक डिजाइनमा सहयोग गर्ने भए पनि मानवीय भावना, संवेदना र सामाजिक सन्दर्भ बुझ्न नसक्ने उनीहरूको भनाइ छ।
लियु चिङयुआनले थपे, “एआईले गलत सूचना पनि उत्पादन गर्न सक्छ। तर त्यही एआईको प्रयोग गरेर हामी गलत सामग्री पहिचान गर्न सक्छौँ। त्यसैले एआईलाई पूर्ण क्रान्ति होइन, सहयोगी ट्रेन्डका रूपमा बुझ्नुपर्छ।
यस्तै, कुइचोउ रेडियो तथा टेलिभिजन स्टेशनका उपनिर्देशक सियु पोले एआईले पत्रकारिताको आधारभूत कार्यप्रणालीलाई विस्थापित गर्न नसक्ने स्पष्ट पारे। उनका अनुसार एआईले भाषागत सुधार, डिजाइन, संगीत मिलाउनेजस्ता काम गर्न सक्छ तर फिल्ड रिपोर्टिङ, स्रोतसँगको प्रत्यक्ष संवाद र खोजमूलक पत्रकारिता गर्न सक्दैन।
उनले पत्रकारहरूलाई स्थलगत रिपोर्टिङमा अझ सक्रिय हुन आग्रह गर्दै मौलिक सामग्री उत्पादन नै पत्रकारिताको भविष्य सुरक्षित गर्ने मुख्य आधार हुने बताए।









