काठमाडौं,२३ असार । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२९ सम्म नेपालमा आफ्नो सहयोग बढाउँदै कुल २।४ अर्ब अमेरिकी डलर पुर्याउने भएको छ।
नेपाल भ्रमणमा रहेका एडिबी अध्यक्ष मासातो कान्डाले नयाँ ‘देशीय साझेदारी रणनीति २०२५–२०२९’ अन्तर्गत रोजगारी सिर्जना, पूर्वाधार विकास, निजी क्षेत्र प्रवर्द्धन, सार्वजनिक सेवा सुधार, डिजिटल रूपान्तरण र जोखिममा रहेका समूहको सशक्तीकरणमा सहयोग केन्द्रित गरिने बताए।
यसै क्रममा एडिबीले नेपालसँग १६५ मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौता गरेको छ। जसअन्तर्गत ११५ मिलियन डलर खानेपानी तथा सरसफाइ सुधार र ५० मिलियन डलर सीमा नाका तथा व्यापार प्रणाली आधुनिकीकरणमा खर्च गरिनेछ।
एडिबीले चालु वर्षभित्र नेपालका लागि करिब ६६० मिलियन अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको जनाएको छ।
एडिबी अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसहित विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको आर्थिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनाका विषयमा छलफल गरेका छन्।









