काठमाडौं,२४ असार । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूलाई कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने बताउनु भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्का नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको जानकारी दिनु भयो । उहाँले आधुनिक प्रविधिको प्रयोग र अनुसन्धानमा परिषद्ले अग्रणी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै वैज्ञानिकहरूको सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेतृत्व चयनमा अब केवल वरिष्ठतालाई मात्र आधार नबनाइने स्पष्ट पार्नुभयो ।
‘सरकारले नेतृत्वको जिम्मेवारी प्रदान गर्दा केवल वरिष्ठतालाई मात्र आधार मानेको छैन । अब उच्च वरीयताको आधारमा मात्र नेतृत्व चयन हुने अवस्था रहने छैन । कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र नेतृत्व गर्ने दक्षताकै आधारमा जिम्मेवारी दिइनेछ,’ उहाँले भन्नु भयो ।
मन्त्री चौधरीले इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिकहरूले मात्र परिषद्को नेतृत्व गर्ने अवसर पाउने बताउँदै यसमा कुनै दुविधा नरहेको उल्लेख गर्नुभयो ।
उहाँले विगत केही वर्षदेखि परिषद् आन्तरिक जटिलता र संरचनागत समस्याका कारण अस्तित्वकै परीक्षा सामना गर्न बाध्य भएको पनि बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘विगतका केही वर्षदेखि हामीले परिषद्भित्र आन्तरिक जटिलता, संरचनागत समस्याका कारण आफ्नो अस्तित्वको परिक्षाको घडिमा गुज्रिसकेको छ । मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आएपनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकिराखेको छैन ।’ मन्त्रालयले परिषद्लाई उच्च प्राथमिकतामा राख्दै आए पनि हालसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र तयार गर्न नसकेको उहाँको भनाइ थियो ।









