सिरहा, २४ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका अनुसार कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै वन अधिकृत यादवले प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।
सेवाग्राहीको उजुरीपछि अख्तियारले आवश्यक प्रमाण संकलन गरी निगरानी थालेको थियो। सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट यादवलाई १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
अख्तियारका प्रवक्ता प्रकाश पोखरेलका अनुसार पक्राउपछि घटनास्थलमै मुचुल्का तयार गर्ने, प्रमाण संकलन गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रक्रिया पूरा भएपछि थप अनुसन्धानका लागि उनलाई अख्तियारको बर्दिबास कार्यालय लगिने तयारी गरिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ। यस घटनासँगै वन प्रशासनमा हुने अनियमितता र घुसखोरी नियन्त्रणको विषय फेरि चर्चामा आएको छ।









