प्रधानमन्त्री र सभापति लामिछानेले संसदको नियम उल्लंघन गरेको भन्दै एमाले महरको आपत्ति

काठमाडौं,३० असार । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनु भएको छ ।

एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरेको आरोप लगाउनु भयो ।

उहाँले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको उल्लेख गर्नु भयो ।

सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसनअगाडिको भाग हुँदै हिँड्नु भएको थियो ।

‘माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले नियमको उल्लंघन गरेर हिँड्नुभएको छ । यस विषयमा नियमापत्ति गर्दै सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु र यसबारे रुलिङको माग गर्दछु,’महरले भन्नु भयो।

उहाँले संसद्को मर्यादा र नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सभामुखबाट आवश्यक निर्देशन आउनुपर्ने माग गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास