दमक | २ साउन । दमक नगरपालिकामा वस्ती विकासको समकालीन इतिहास केलाउँदा सन् १९७० साल पछी पूर्वी पहाडी जिल्लाहरू र भारतको आसामबाट बसाइँसराई र कृषि/पशुपालनको सिलसिलामा मानिसहरू आउन थालेपछि वन फडानीको शुरुवात भयो ।
वि.स. २००७ सालको औलो उन्मुलन कार्यक्रम पश्चात भने थप बसाइँसराई, बस्ती विकास र खेतीपातीले गति लियो। यसै सिलसिलामा २०१२ सालदेखि नगरपालिकाको उत्तरी क्षेत्र र २०२० सालदेखि दक्षिणी क्षेत्रमा बस्ती एवं मानव गतिविधि विस्तार हुन थालेको पाइन्छ । यसरी विगतमा महेन्द्र राजमार्गको आसपासको क्षेत्रहरुमा सिमित रहेको दमकको शहरी विकासक्रम समय संगसंगै विस्तार हुँदै भित्रि वस्ती र वडाहरुसम्म पुगेको अवस्था छ।
दमक कोशी प्रदेशको झापा जिल्लामा अवस्थित दमक नगरपालिका पूर्वी नेपालको द्रुत रूपमा विकास भइरहेको शहरी केन्द्र हो। पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।
यसको विकासकोलागि यी क्षेत्रहरुलाई विविधरुपमा पहिचान गरी योजना बनाउन सकेको खण्डमा दमकको विकासका साथसाथै समग्र विकासमा पुर्याउने सकारात्मक प्रभावहरु निम्नानुसार अनुमान गर्न सकिन्छ :
१. धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन, पार्क, हरित क्षेत्र, नदी किनारको सौन्दर्यीकरण, सांस्कृतिक महोत्सव तथा स्थानीय परिकारको प्रवर्द्धनबाट दमकको विशेष पर्यटकीय सम्भावना बोकेको क्षेत्रको रुपमा लिन सकिन्छ । यसका लागि दमक नगरपालिकाले सम्बन्धित संघसंस्था,सरोकारवालाहरुसँग समन्वय गर्दै योजना बनाउनुपर्दछ ।
२. दमक वरपरका क्षेत्र उर्वर कृषि भूमिले सम्पन्न छन्। आधुनिक कृषि, व्यावसायिक तरकारी तथा फलफूल खेती, डेरी, माछापालन, कुखुरापालन तथा कृषि उत्पादनको प्रशोधन उद्योगमार्फत स्थानीय आय र रोजगारी बढाउन सकिन्छ। झापा कृषि उत्पादनको दृष्टिकोणले कृषिमा आत्मनिर्भर बनाउने प्रचुर सम्भावना बोकेको स्थान हो भने दमकलाई झापाको कृषि उत्पादनको प्रवद्र्धनका लागि हबको रुपमा विकास गर्न सकिन्छ । साथै, कृषि उत्पादनको व्यापारिक केन्द्रको रुपमा दमकलाई अगाडि बढाउन सकिन्छ ।
३. सहरीकरण तथा प्रविधिको विकास विश्वव्यापीरुपमा जसरी अगाडि बढिरहेको छ त्यसलाई मध्यनजर गरी दमकलाई व्यवस्थित सहरी योजना बनाएर कम्तीमा दस वर्षभित्र पूरा गर्न सकिने व्यवस्थित बजारको परिकल्पना गर्न सकिन्छ । जसका लागि व्यवस्थित सडक, पार्किङ र फुटपाथको व्यवस्थापनलाई मुख्य घटकको रुपमा राखी योजना कार्यान्वयन गर्नुपर्दछ । साथै, अनियन्त्रितरुपमा घर निर्माण रोक्न जोनिङ प्रणाली लागू गर्नुपर्दछ ।
४. दमक बजारमा सबैभन्दा नदेखाइएको रुपमा देखिएको समस्या भनेको यातायात तथा पार्किङ व्यवस्था हो । दमक बजार झापाको प्रमुख बजार भएकाले तथा पूर्वपश्चिम राजमार्गको मुख्य–मुख्य भागहरु तथा अन्य राजमार्गहरूमा बैंक तथा वित्तीय संस्थाहरु, अटो शोरूमहरु तथा अन्य विभिन्न व्यावसायिक पसल तथा कार्यालयहरु रहेको हुँदा दमकले ट्राफिक व्यवस्थापनमा अर्थात् पार्किङ व्यवस्थापनमा अत्यन्तै कठिनाइ भइरहेको प्रस्ट देख्न सकिन्छ । त्यसका लागि वाटो क्रस गर्न ओभरहेड ब्रिज निर्माण गरेर अतिव्यस्त स्थानमा ट्राफिक लाइट जडान गरेर ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनबाट हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।
दमक बजारको विकास योजनासम्बन्धी सुझाव तथा नीति निर्माणका लागि आवश्यक कार्यहरु :
१.दमक वसपार्क स्थानीय बासिन्दाहरुको अत्यधिक मेहनत र प्रयासले उक्त बसपार्क सम्भव भएको हो । जुन हिसावले बसपार्क निर्माण भएको हो हाल सवारीसाधनको अत्यधिक चापले बेला–बेलामा समस्या आउने गरेको हामी देख्न सक्छौँ । दैनिक रूपमा हजारौं यात्रु, निजी सवारी तथा सार्वजनिक यातायातका साधनहरूको आवागमन हुने भएकाले सोको लागि बसपार्कमा सार्वजनिक यातायात टर्मिनललाई आधुनिकीकरण गर्न अत्यन्तै आवश्यक छ । दमक हुदै लामो दूरीको यातायातका साधनहरु राजमार्ग र सहरी सडक प्रयोग गर्न बाध्य छन् । त्यसैले, उक्त सडकको विकल्पको रुपमा निर्माण भएका रिङरोड रोडलाई प्रयोगमा ल्याउनुपर्ने पहलकदमी अत्यन्तै जरूरी छ ।
२. दमक बजारको व्यापार र उद्योग प्रवर्द्धनका लागि आधुनिक व्यापारिक कम्प्लेक्स र होलसेल मार्केट स्थापना गर्न सकिन्छ । स्थानीय उत्पादनको ब्रान्डिङ र निर्यात प्रवर्द्धनका लागि सहजीकरणको भूमिका निर्वाह गरेर साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने नीति निर्माण गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।
३. दमक बजार क्षेत्र हाल सरसफाइको दृष्टिकोणले संवेदनशील क्षेत्रको रुपमा रहेको छ । त्यसैले, बजार क्षेत्रबाट निस्कने विभिन्न किसिमका फोहर तथा फोहरजन्य तत्त्वहरुलाई तुरून्तै फ्याँक्ने वा फोहरलाई रिसाइकल गरी पुनः प्रयोग गर्न सकिने प्रविधिको विकास गर्न पनि अत्यन्तै आवश्यक भएकोले यथाशीघ्र मध्यनजर गरी सोहीअनुसार योजनाबद्धरुपमा अगाडि बढ्नुपर्ने देखिन्छ । त्यसैले, वातावरण संरक्षण तथा फोहर व्यवस्थापनको आधुनिक प्रणालीलाई नगरक्षेत्रभित्र भित्र्याउन यथासम्भव छिटो पहल गर्नुपर्दछ ।
४. दमक शैक्षिक विकासको उद्गमस्थल हो । विगतदेखि हालसम्म दमकले विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विद्यार्थीहरु प्रदान गरिसकेको र गरिरहेको छ । दमकमा अवस्थित क्याम्पसलगायतका शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा थुप्रै योगदान पुर्याउँदै आइरहेका छन् । देशमा आएको परिवर्तनले देशलाई अर्थात् देशका शैक्षिक क्षेत्रमा लागेको मानव संसाधनलाई अपहरण गरेको पनि देखिन्छ ।
त्यसैले, शैक्षिक संस्थाहरुको सुधार गर्न सकिएमा देशका विभिन्न क्षेत्रबाट पठनपाठनका लागि दमकमा आउन सक्ने सम्भावना अत्यन्तै देखिन्छ । त्यसका लागि उच्चस्तरीय विश्वविद्यालय, प्राविधिक कलेजको स्थापनाको सम्भावनालाई अध्ययन टोली निर्माण गरेर अगाडि बढाउन सकिन्छ ।
नीति निर्माणका लागि आवश्यक कार्यहरु
१. दीर्घकालीन विकास नीति :
क) स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग समन्वय कायम गरी २०–३० वर्षको दमक विकास भिजन योजना बनाउनका लागि अध्ययन र अनुसन्धान टोली निर्माण गर्ने ।
ख) भौगोलिक, आर्थिक र जनसंख्याको हिसाबले अध्ययन गरेर ट्राफिक व्यवस्थापन, व्यापार प्रवर्द्धन र पर्यटनसम्बन्धी डेटा सङ्कलनका लागि टोली बनाउने ।
ग) स्थानीय नागरिक, व्यवसायी र विद्यार्थीसँग परामर्श गर्नका लागि कार्यक्रम बनाउने ।
घ) समाज तथा समुदायबाट सुझाव सङ्कलन गर्ने र सङ्कलित सुझावलाई नीति निर्माणमा समावेश गर्ने ।
ङ) लगानी आकर्षण गर्नका लागि पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमार्फत स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन नीति बनाउने ।
च) शहरी विकासका लागि स्पष्ट नियम र मापदण्ड तयार पारेर कानुनी तथा प्रशासनिक सुधार गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक पारदर्शिताले एउटा आदर्श समाजको निर्माण गर्न सकिने ।
दमक कोशी प्रदेशको प्रमुख व्यापारिक तथा तथा यातायात केन्द्र भएकोले यसको विकासका लागि व्यवस्थित शहरी योजना, पर्यटन विकास, नदीकिनार व्यवस्थापन, उद्योग प्रवर्द्धन र स्मार्ट सिटी योजनाबद्ध तथा व्यवस्थित शहरी विकास ,आर्थिक, सामाजिक र वातावरणीय विकासबीच सन्तुलन, नागरिकमैत्री, सुरक्षित र स्मार्ट नगर निर्माण अवधारणा लागू गर्न आवश्यक छ ।









