काठमाडौं,१८ साउन । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोपमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार भट्टराईविरुद्ध काठमाडौं जिल्ला अदालतमा राहदानी ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो। उनीमाथि शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोप छ।
अनुसन्धानका क्रममा भारतीय क्याम्पमा रहेका शरणार्थीलाई फर्जी कागजातका आधारमा यात्रा अनुमति पत्र जारी गरेको पाइएपछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भट्टराईलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबीले जनाएको छ।









