दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित राखेको छ। विकासको नाममा वर्षौंसम्म भाषण गर्ने, योजना बनाउने र बजेट छुट्याउने सरकारहरूका लागि साधुहोली आज पनि एउटा गम्भीर प्रश्न बनेर उभिएको छ।
वरिपरि ठूला–ठूला रुखले घेरिएको वन क्षेत्र। बीचमा बाह्रै महिना पानी जमिरहने सुन्दर पोखरी। पोखरीको तलदेखि माथिसम्म हेर्दा पर्यावरणमा देखिने हरेक वस्तुले प्रकृतिको आफ्नै कथा सुनाइरहेको हुन्छ। वैज्ञानिक वन, दुर्लभ चराचुरुङ्गीको संगम र निरन्तर पानी उम्रिरहने यो क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त आधार छन्।
साधुहोलीलाई व्यवस्थित ढंगले विकास गर्ने हो भने यो झापाको मात्रै होइन, पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ। पोखरीको वरिपरि पैदलमार्ग, विश्रामस्थल, प्रकृति अवलोकन गर्ने स्थान, बोटिङका लागि आवश्यक पूर्वाधार, खुला पौडीका लागि सुरक्षित र व्यवस्थित क्षेत्र तथा स्वच्छ, स्थानीय र अर्गानिक खानाका लागि व्यवस्थित स्थान निर्माण गर्न सकिन्छ।
प्रकृतिले दिएको ठाउँलाई कंक्रिटको जंगल बनाउनु आवश्यक छैन। तर प्रकृतिको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्ने आधारभूत सुविधा दिन पनि नसक्ने हो भने विकासका नाममा गरिने भाषणको अर्थ के रहन्छ?
साधुहोलीमा रहेको पोखरीको क्षेत्र विस्तार गर्दै वरिपरि पर्यटकीय पूर्वाधार विकास गर्ने हो भने यसले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्छ। पोखरीमा आउने पानीलाई नजिकका खेतबारीमा सिँचाइका लागि प्रयोग गर्न सकिन्छ। त्यही पानीबाट कृषि उत्पादन बढाउन सकिन्छ । कृषि र पर्यटनलाई जोडेर नयाँ आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ।
अर्थात्, साधुहोली केवल घुम्ने ठाउँ होइन । यो कृषि, पर्यटन, रोजगारी र स्थानीय समृद्धिको साझा आधार बन्न सक्छ।
तर अहिलेको अवस्था हेर्दा साधुटार पुग्न अझै पनि पूर्वाधारको अभाव झेल्नुपर्छ। दमकको उत्तरतर्फ बेलडाँगी रोड हुँदै पाथीभरा नेत्रालयको बाटो भएर रतुवा पुल पार गरेपछि दक्षिण–पूर्वतर्फ पुगिने यो क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन तत्काल पूर्वाधार विकास आवश्यक छ।
फेवाताल बन्ने सम्भावना साधुहोलीमा छैन भन्ने होइन। फरक यति हो, पोखराले आफ्नो सम्भावनालाई पूर्वाधार, लगानी र व्यवस्थापनसँग जोड्यो। साधुहोलीले भने अझै पनि सरकारी बेवास्ता, योजनाविहीनता र राजनीतिक प्राथमिकताको अभावसँग संघर्ष गरिरहेको छ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले साधुहोलीको विकासमा साझा लगानी गर्ने हो भने यहाँ रोजगारीका नयाँ अवसर सिर्जना हुन सक्छन्। कृषि र पर्यटनको एकीकृत विकासमार्फत स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिन्छ। होटल, होमस्टे, स्थानीय परिकार, कृषि उत्पादन, मनोरञ्जन र प्रकृतिमा आधारित पर्यटनले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सक्छ।
साधुहोलीलाई पर्यटकीय गन्तव्य बनाउने हो भने आजैबाट काम सुरु गर्नुपर्छ। पोखरीको संरक्षण, वन क्षेत्रको सुरक्षा, व्यवस्थित पैदलमार्ग, पर्यटकका लागि आवश्यक आधारभूत सुविधा, स्वच्छता, सुरक्षा र स्थानीय सहभागितालाई प्राथमिकतामा राख्नुपर्छ।
प्रकृतिले पोखरी दिइसकेको छ। वन दिइसकेको छ। पानी दिइसकेको छ। पर्यटनको सम्भावना पनि दिइसकेको छ। अब चाहिएको छ केवल सरकारको इच्छाशक्ति ।
किनभने साधुहोलीलाई पोखराको फेवातालजस्तै बन्नबाट रोक्ने प्रकृति होइन, हाम्रो आफ्नै बेवास्ता बन्न सक्छ ।









