"आलु रोप्नेको चटारो"

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात हुन रोकिएपछि आलु रोपाइको चटारो

ताप्लेजुङ/  ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारोे सुरु भएको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेका छन ।

समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन । जिल्लाको हिमाली बस्ती ओलाङचुङगोला चार हजार २०० मिटर उच्चाइमा अवस्थित याङमा, फले, क्याप्ला लगायत क्षेत्रमा बसोबास गर्ने किसानको आलु मुख्य खेती हो ।

एक घर परिवारले २० मुरी अर्थात् एक हजार ६०० केजीसम्म आलुको बीउ रोप्ने गरेको शेर्पाले बताउनुभयो । दश मुरी आलु रोपाइँ गर्दा ९० मुरीसम्म आलु उत्पादन हुने स्थानीय बताउनुहुन्छ । हिमाली क्षेत्रमा हिमपात हुन रोकिएपछि आलु रोपाइँको चटारो लाग्ने गर्दछ । चैत महिनामा रोपेको आलु असोज महिनामा खन्ने गरिन्छ । घुन्सा र याङमा क्षेत्रलाई आलु बीउको भण्डारणको रुपमा लिन सकिन्छ ।

यस क्षेत्रमा उत्पादन भएको आलु मङ्सिर र पुस महिनामा आलु व्यापारका लागि घुन्सा क्षेत्रमा उत्पादन भएको आलु याकमार्फ ढुवानी गरेर एक दिन लगाएर फले क्षेत्रमा भण्डारण गर्ने गरिन्छ । उता याङमा क्षेत्रमा उत्पादन भएको आलु दुई दिन लगाएर चेने भन्ने ठाउँमा भण्डारण गर्ने गरिन्छ । चेनेमा फक्ताङलुङ गाउँपालिकाले आलु भण्डारणका लागि संरचना समेत निर्माण गरेको छ ।

Share: