विराटनगर । मोरङ व्यापार संघले गत चैत १८ गतेदेखि विराटनगरमा सुरु गरेको ‘विराट ट्रेड एक्स्पो’मा लगभग १० करोडको कारोबार भएको छ ।
मेला आयोजक समितिका संयोजकसमेत रहेका मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले दिएको जानकारी अनुसार हालसम्म लगभग ४० हजार मानिसले अवलोकन गरेका छन् ।
‘आजसम्ममा लगभग ८ देखि १० करोडको कारोबार भएको अनुमान छ,’ उनले भने, ‘एक्ज्याक्ट डाटा आएको छैन, ४ वटा कार, जेनेरेटर तथा डेढ दर्जन बढी इलेक्ट्रिक साइकलको विक्री भएको छ ।’ २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गरेका थिए । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेका छन् ।
एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ । ‘हामीले गरेको अपेक्षा अनुसार नै एक्स्पोमा मानिसको सहभागिता उत्साहजनक छ,’ बेगवानीले भने, ‘कारोबार पनि लक्ष्य अनुसार पुग्ने देखिएको छ ।’
झण्डै ३ करोड रुपैयाँ खर्च गरेर सुरुवात गरिएको एक्स्पोमा ४५ करोडको कारोबार हुने अनुमान आयोजकको छ । एक्स्पोको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ ।
एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम भइरहेको छ । त्यस्तै जीपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङलगायतका साहसिक खेलकुदको पनि व्यवस्था छ ।
एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको नमुना राखेर आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ ।