काठमाडौं,२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले वर्तमान सरकारको वैधानिकता माथि प्रश्न उठाउँदै आएको भन्दै प्रतिपक्षी दलका सांसदहरूप्रति आक्रोश व्यक्त गर्नु भएको छ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संग्रौलाले जनताले परिवर्तन र नयाँ नेतृत्वको पक्षमा मतदान गरेकाले रास्वपा सरकारमा आएको दाबी गर्नु भएको छ्। उहाँले चुनावमा रास्वपाले १८२ सिटसहित बहुमत प्राप्त गरेको बताउँदै सरकारको वैधानिकता माथि निरन्तर प्रश्न उठाउनुको अर्थ नरहेको बताउनु भयो।
उहाँले भन्नु भयो, ‘यो पटक प्रष्ट रूपमा अन्धकार, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको खोल ओडेर देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन। एल्गोरिदमले नयाँ हे¥यो, युवा हे¥यो, सम्भावना हे¥यो अनि परिवर्तनको घण्टी बजायो।’संग्रौलाले वर्तमान सरकारले विगत लामो समयदेखि रहेको बेथिति र भ्रष्टाचारको उपचार सुरु गरेको दाबी गर्नु भयो । सरकारका कामका क्रममा केही समस्या र आलोचना आउन सक्ने भन्दै उहाँले त्यसलाई उपचारका क्रममा घाउ चिर्ने, सिलाउने र मिलाउने प्रक्रियासँग तुलना गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘३५ वर्षको बेथिति र भ्रष्टाचारको चोटलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले, यो सरकारले उपचार गर्न सुरु गरिसकेको छ । उपचार गर्ने क्रममा कतै चिर्नुपर्ने, कतै सिलाउनुपर्ने, कतै मिलाउनुपर्ने हुन्छ ।’उहाँले भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजलाई ‘क्यान्सर’को संज्ञा दिँदै त्यसबाट देशलाई मुक्त गराउने सरकारको उद्देश्य रहेको बताउनु भयो।संग्रौलाले विगतका सरकारको आलोचना गर्दै तत्कालीन सरकारको नेतृत्वमा भएका घटनामा ज्यान गुमाएका नागरिकका परिवारले अझै दुःख भोगिरहेको अवस्थामा फेरि पुरानै नेतृत्वले सरकार सञ्चालन गर्ने दाबी गर्नु आश्चर्यजनक भएको टिप्पणी गर्नु भयो।
उहाँले भन्नु भयो, ‘भदौ २३ र २४ गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवाआमाहरू बरखी बारेर बसिरहनु भएको छ । उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन । कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँहरूले भनिरहनुभएको छ ?’बैठकमा प्रधानमन्त्रीले लगाउने कालो चस्माबारे हुने टिप्पणीप्रति पनि उहाँले व्यंग्य गर्नु भयो। उहाँले चिनियाँ नेता देङ स्याओपिङको भनाइ उद्धृत गर्दै बिरालो कालो वा सेतोभन्दा पनि मुसा मार्न सक्ने हुनुपर्ने तर्क प्रस्तुत गर्नु भयो।
उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीले कालो चस्मा लगाए पनि, सेतो चस्मा लगाए पनि, यो देश बनाइदिनुभयो भने पुगेन र सभामुख महोदय ?’ प्रधानमन्त्रीको चस्माभन्दा प्रतिपक्षी दलहरूको नियतमाथि प्रश्न उठाउनुपर्ने उहाँको भनाइ थियो।‘त्यसकारण अब प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षी दलका सम्माननीय ज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्,’ उहाँले भन्नु भयो। संग्रौलाले सरकारलाई काम गर्न दिनुपर्ने र सकारात्मक कामको समर्थन तथा नकारात्मक कामको आलोचना गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा समेत जोड दिइनु भयो।









