काठमाडौं,२ भदौ । राइड सेयरिङ चालक तथा राइडरहरूले न्यायोचित भाडादर र कम्पनीले लिने कमिसन कटौतीको माग गर्दै प्रदर्शन गर्नुु भएको छ।
मंगलबार स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको हो।
प्रदर्शनमा फाउण्डेशनका प्रवक्ता अनिल श्रेष्ठले चालकको श्रमअनुसार उचित पारिश्रमिक उपलब्ध नभएको भन्दै राइडहरुमाथि शोषण भएकाले बाध्य भएर सडकमा आएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘हामी यहाँ रहरले आएका होइनौं, उचित भाडादर हुनुपर्यो । हामीमाथि शोषण भइरहेकाले बाध्य भएर सडकमा आएका हौं ।’
उहाँले हाल कायम रहेको भाडादरले चालकको श्रम, समय, इन्धन तथा सवारीसाधनको मर्मतसम्भारको खर्च धान्न कठिन भइरहेको बताउनु भयो ।
राइड सेयरिङ क्षेत्रका समस्या कम्पनी र चालकबीच वार्तामार्फत समाधान गर्नुपर्ने उहाँले बताउनु भयो ।
चालकको न्यूनतम आम्दानी सुनिश्चित हुने गरी न्यूनतम भाडादर निर्धारण गर्नुपर्ने मागसमेत उहाँको छ ।
राइडिङका क्रममा चालक तथा राइडर दुवैको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ,राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित, सुरक्षित र श्रममैत्री बनाउन सम्बन्धित निकायले स्पष्ट नीति तथा मापदण्ड बनाउनुपर्ने उहाँको भनाई छ ।









