दमक, २ भदौ। दमकका व्यवसायीबीच फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। दमक उद्योग वाणिज्य संघको ३६औँ स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा चौथो अन्तरवस्तुगत व्यवसायी संघ फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
भदौ ५ र ६ गते हुने प्रतियोगितामा दमकमा रहेका विभिन्न १२ वटा वस्तुगत व्यवसायी संघको सहभागिता रहनेछ। प्रतियोगिताबारे दमक उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
संघका अनुसार आफ्नो वार्षिक तथा नियमित कार्यक्रम अन्तर्गत विगत चार वर्षदेखि फुटसल प्रतियोगिता आयोजना हुँदै आएको छ। त्यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ। यसपटक देखि प्रतियोगितामा रनिङ शिल्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ।
व्यवसायीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई स्वस्थ र सक्रिय राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले बताउनु भयो।
प्रतियोगिताको विजेताले तेतीस हजार ३ सय तेतीस रुपैयाँ तथा उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी तथा अन्य विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको पहिलो खेल किराना व्यवसायी संघ र जुत्ता–चप्पल व्यवसायी संघबीच हुने तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागी व्यवसायी संघहरूबीच प्रतिस्पर्धात्मक तथा मैत्रीपूर्ण वातावरण निर्माण हुने आयोजकको अपेक्षा छ। यस भन्दा अघी बिजेतालाई ट्रफिको समेत व्यवस्था गर्ने गरिएपनि यो पटक देखी भने निरन्तर तीनवटा प्रतियोगिता जीत्नेलाई मात्रै सो ट्रफि दिइने जनाइएको छ । अर्थात यो पटक देखी रनीङ शिल्डको रुपमा यो प्रतियोगीतालाई परिमार्जन गरिएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।









