रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
रसुवा भन्सार कार्यालयमा कुल ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् ।
कार्यालयमा करार तथा ज्यालादारीतर्फ चार जना कर्मचारी कार्यरत रहेकोमा एक जना सम्पर्कमा आएका छन् । हालसम्म ११ जना स्थायी र तीन जना करार तथा ज्यालादारी कर्मचारी सम्पर्कविहीन रहेको भन्सार कार्यालयले जनाएको छ ।
सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । बाढीका कारण रसुवागढी क्षेत्र प्रभावित भएपछि भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे निरन्तर खोजी भइरहेको हो ।
सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गर्दै सम्पर्कविहीन कर्मचारीको खोजी र उद्धारलाई तीव्रता दिइएको जनाइएको छ ।









