काठमाडौँ , १० भदौ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका अनुसार दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहनजिक बुधबार पहिरो गएको थियो ।
ग्यिरोङ काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै पिपुल्स डेलीले पहिरोमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको जनाएको छ । पहिरोका कारण चिनियाँ भूमितर्फ ग्यिरोङ बन्दरगाहसम्म जाने सडक अवरुद्ध भएको छ । साथै सञ्चार र विद्युत् आपूर्तिसमेत प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
ग्यिरोङ बन्दरगाह चीन र नेपाललाई स्थलमार्गबाट जोड्ने प्रमुख नाकामध्ये एक हो । नेपालतर्फ रसुवाको टिमुरे हुँदै चीनसँग जोडिने यो क्षेत्रमा आएको विपद्का कारण दुवैतर्फको आवागमन तथा पूर्वाधारमा असर परेको समाचारमा उल्लेख छ । नेपालतर्फभने रसुवासहित त्रिशुली नदीको तटीय क्षेत्रमा व्यापक क्षति भएको छ ।







