काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सोलार स्ट्रिट लाइट खरिद तथा जडान कार्यको भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०८२र८३ को सोलार जडान योजनाको भुक्तानी रकममा कमिसन माग्दै तामाङले सेवाग्राहीलाई पटक–पटक दुःख दिएको उजुरी परेको थियो। सोही सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा तामाङले आफ्नो पद र ओहदाको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको देखिएको आयोगले जनाएको छ।
अख्तियारले तामाङसँग एक लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।









