दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति र विशेष चहलपहल देखिएको छ। व्रत बसेर पूजाआराधना गर्ने तथा भजन–कीर्तनमा रमाउनेहरूको उत्साहले नगर क्षेत्र भक्तिमय बनेको छ।स्थानीय राधा–कृष्ण मन्दिरमा पूजाआराधना गर्न आउनुभएकी भक्तजन गोमा भट्टराईले श्रीकृष्णलाई आफ्नो गुरु मान्दै आएको बताउनुभयो। श्रीकृष्णप्रतिको आफ्नो अगाध आस्था व्यक्त गर्दै उहाँले भन्नुभयो, धर्मले जोड्न सिकाउँछ, फुटाउन होइन; त्यसैले धर्मका नाममा कसैले पनि झैझगडा गर्नु हुँदैन।
त्यसैगरी, पूजाका लागि मन्दिर आँउनु भएकी अर्की श्रद्धालु सीतादेवी ढुङ्गानाले सम्पूर्ण सृष्टि नै श्रीकृष्णको लीला रहेको बताउनुभयो। भगवान् सबैका लागि एउटै हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, धर्मको नाममा जतिसुकै विवाद भए पनि ईश्वर एकै हुन्। कठिन परिस्थितिमा भगवान्नले सधैँ आफ्ना भक्तहरूको रक्षा र सहायता गर्नुहुन्छ।
मन्दिर परिसरमा भेटिनुभएका अन्य भक्तजनहरूले भने व्यक्तिगत सुख–शान्तिका साथै देशको समृद्धिका लागि प्रार्थना गरेका छन्। देशमा आइपर्ने विभिन्न विपत्तिको घडीमा सबै नागरिक सुरक्षित रहुन् तथा समाजमा शान्ति कायम होस् भन्दै श्रीकृष्णसँग प्रार्थना गरिएको उनीहरूको भनाइ छ।दमकका मन्दिरहरूमा दिनभरि नै पूजाआराधना, भजन–कीर्तन र रथयात्रा जस्ता धार्मिक अनुष्ठानहरू सञ्चालन भइरहेका छन्। आस्था, सद्भाव र भ्रातृत्वको सन्देश दिँदै आजको दिनलाई नगरवासीले उत्सवका रूपमा मनाइरहेका छन्।









