तपाईंको घर कसले बनायो?
तपाईंले, कि त्यो घरको जगदेखि छानासम्म पसिना बगाउने श्रमिकले ?
म आफ्नो घरभित्र बसिरहेको हुन्छु। कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु—यो घर बन्नुमा मेरो योगदान कति होला? अनि सम्झन्छु, मेरा ती श्रमिक दाजुभाइहरूलाई, जसले आफ्नो शरीर घोटेर, घाम–पानी सहेर यो घरको जग बसाले।
घर मेरो होला, तर त्यसको निर्माणमा बगेको पसिना मेरोभन्दा धेरै उनीहरूको होला।
छेउमा अर्को घर बन्दैछ। बाहिर चर्को घाम लागेको छ। म घरभित्रै बस्दा पनि गर्मीले ‘उफ्’ गरिरहेको हुन्छु। तर त्यही घाममा श्रमिक दाजुभाइहरू निरन्तर काम गरिरहेका हुन्छन्। कसैको कपडा पसिनाले भिजेको छ, कसैको निधारबाट पसिनाको धारा बगिरहेको छ। तर उनीहरू रोकिन्नन्।
किन?एक छाक खान, परिवार पाल्न र जीवन धान्न।
म घरबाट बाहिर निस्कन्छु। बाटोमा हिँड्दै गर्दा फेरि सोच्छु—यो बाटो कसले बनायोरु यसको निर्माणमा कसको श्रम मिसिएको छ?
बस चढ्छु। विद्यालय पुग्छु। व्यापारिक भवनमा पुग्छु। अस्पताल पुग्छु। पुलमाथि उभिन्छु। म जहाँ–जहाँ पुग्छु, त्यहाँ–त्यहाँ श्रमिकको हातको छाप देख्छु।
हामी गर्वका साथ भन्छौँ—‘यो मेरो घर हो’, ‘यो मेरो भवन हो’, ‘यो मेरो व्यवसाय हो।’
तर एकपटक सोचौँ त—
त्यो घरको इँटा कसले बोकेको थियो?
सिमेन्ट कसले घोलेको थियो?
फलाम कसले उठाएको थियो?
भित्तामा प्लास्टर कसले गरेको थियो?
घाम, पानी र धुलोबीच कसले आफ्नो शरीर खियाएको थियो?
भवन हाम्रो नाममा होला, तर त्यसको कथा श्रमिकको पसिनाले लेखिएको हुन्छ।
आज हामीले दृष्टिकोण बदल्न आवश्यक छ।
श्रमिक भनेको केवल ज्याला लिएर काम गर्ने व्यक्ति होइन।
श्रमिक भनेको हाम्रो सभ्यताको निर्माता हो।
हामीले लगाउने कपडादेखि खाने थालसम्म, पकाउने भाँडादेखि बस्ने घरसम्म, हिँड्ने बाटोदेखि चढ्ने सवारी साधनसम्म, पढ्ने विद्यालयदेखि उपचार गर्ने अस्पतालसम्म—हरेक संरचनाको पछाडि कुनै न कुनै श्रमजीवीको हात जोडिएको छ।
हामीले पूजा गर्ने मन्दिर पनि कसैको श्रमले बनेको हो।
हामी हिँड्ने पुल पनि कसैको श्रमले बनेको हो।
हामी सुरक्षित ठान्ने भवन पनि कसैको पसिना र जोखिमले उभिएको हो।
त्यसैले प्रश्न केवल यति होइन—
‘श्रमिकलाई कति ज्याला दिने?
प्रश्न यो पनि हो—
‘श्रमिकलाई हामी कति सम्मान गर्छौँर?
हामी किसानलाई सम्मान गर्छौँ भनेर भाषण गर्छौँ। मजदुरलाई देशको मेरुदण्ड भन्छौँ। तर व्यवहारमा उनीहरूकै जीवन असुरक्षित, स्वास्थ्य उपचार महँगो र सामाजिक सुरक्षा कमजोर किन?
किसानले उत्पादन गर्न छाड्यो भने हाम्रो भान्सामा के हुन्छ?
दैनिक ज्यालादारी श्रमिकले काम गर्न छाडे भने हाम्रा शहरका घर, सडक, पुल र भवनहरू कसरी बन्छन्रु
किसान र श्रमिकबिना देशको अर्थतन्त्र चल्छरु समाज अघि बढ्छ?
यदि उत्तर ‘चल्दैन’ हो भने, उनीहरूलाई सम्मान भाषणमा मात्र होइन, नीति र व्यवहारमा पनि देखिनुपर्छ।
श्रमिकलाई उचित ज्याला चाहिन्छ।
सुरक्षित कार्यस्थल चाहिन्छ।
दुर्घटना हुँदा उपचार र क्षतिपूर्तिको सुनिश्चितता चाहिन्छ।
वृद्ध अवस्थामा सामाजिक सुरक्षा चाहिन्छ।
र सबैभन्दा महत्वपूर्ण—मान्छेका रूपमा सम्मान चाहिन्छ।
सरकारले सबै कुरा गर्न नसके पनि एउटा आधारभूत जिम्मेवारी पूरा गर्न सक्छ—श्रमजीवी नागरिकको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी।
किनकि देश बनाउने हात कमजोर भयो भने देशको भविष्य पनि कमजोर हुन्छ।
अब हामीले कसैलाई ‘मजदुर’ भनेर हेप्ने होइन,
‘श्रमजीवी’ भनेर सम्मान गर्ने संस्कार बसाल्नुपर्छ।
अर्कोपटक आफ्नो घरको ढोकाबाट बाहिर निस्कँदा एकछिन रोकिएर हेर्नुहोस्।
तपाईंको घर कसले बनायो?
तपाईं हिँड्ने बाटो कसले बनायो?
तपाईं पढेको विद्यालय कसले बनायो?
तपाईं उपचार गर्ने अस्पताल कसले बनायो?
तपाईं चढ्ने पुल र सडक कसले बनायो?
उत्तर एउटै ठाउँमा पुग्छ—
श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीको हातमा।
त्यसैले अब —
श्रमलाई सम्मान गरौँ। श्रमिकलाई सम्मान गरौँ। किसानलाई सम्मान गरौँ।
किनकि हामीले बनाएको भनिएका धेरै कुरा वास्तवमा हामी सबैको श्रमले बनेका हुन्।
र सायद अब सबैभन्दा ठूलो प्रश्न यही हो—
‘जसको पसिनाले देश बन्छ, उसैको जीवन किन असुरक्षित?’
यो प्रश्नको उत्तर खोज्ने जिम्मेवारी सरकारको मात्र होइन, हामी सबैको हो।









