दमक,१८ असोज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दमक नगर क्षेत्रभित्र आपत्कालीन नम्बरहरूको सूचीसहितको नीलो स्टिकर जनताको घर–घरमा निःशुल्क टाँस्ने अभियान चलाएको छ, जुन आधारभूत रूपमा एउटा राम्रो सुरुवात हो।
तर, सेवाभावले सुरु गरिएको भनिएको यो अभियानमा जब महिला नेतृहरू एकैनासको (म्याचिङ) लुगा लगाएर चिटिक्क परी फोटो सेसनमा रमाइरहेको तस्बिर बाहिरियो, तब यसले गम्भीर प्रश्न खडा गरेको छ। जनताको घरमा स्टिकर टाँस्ने जस्तो सामान्य अभियानमा एउटै डिजाइनको आकर्षक पहिरन लगाएर भाइरल हुने होडबाजी देखिनुले यो विशुद्ध समाजसेवा हो कि सोसल मिडियामा चर्चा कमाउन गरिएको सस्तो ‘स्टन्ट’ मात्र हो भन्ने आम आशंका उब्जाएको छ।
विपद्को बेला चाहिने महत्त्वपूर्ण नम्बरहरू बाँड्ने काम सराहनीय भए पनि, क्यामेराको अगाडि ‘पोज’ दिनकै लागि गरिएको यो पहिरन प्रदर्शनले अभियानको गाम्भीर्यतालाई नै गिज्याइरहेको छ।

सामाजिक सञ्जालमा अहिले सर्वसाधारणले आक्रोश मिश्रित प्रश्न गरिरहेका छन्– के रास्वपाले जनतालाई स्टिकर मात्र सित्तैमा बाँडेको हो कि आफ्ना नेतृहरूलाई यो एकैनासको लुगा पनि पार्टीकै खर्चमा ‘फ्री’ मै दिएको हो?
राजनीतिमा नयाँ संस्कार बसाल्ने दाबी गर्ने पार्टीका कार्यकर्ताहरू ग्राउन्ड जिरोमा जनगुनासो सुन्नुको सट्टा फेसन सोमा जस्तै सजिएर तस्बिर भाइरल गराउन तल्लीन हुनुले उनीहरूको प्राथमिकता जनसेवा भन्दा पनि देखावटी लोकप्रियतामै सीमित रहेको स्पष्ट पार्छ।
जनमुखी काम आफैं बोल्छ, तर त्यसलाई ढाक्ने गरी गरिएको यस्तो ‘फोटोसुट’ ले भने पार्टीको वैचारिक धरातलमै प्रहार गरेको छ। यधपि रास्वपा दमक नगर सभापति तीर्थप्रसाद लामिछानेले भने, “एकै प्रकारको लुगा लगाउनु कुनै आधिकारिक पार्टीको ड्रेस कोड थिएन। उनले लुगालाई लिएर गरिएको आलोचनालाई विपक्षीको दुष्प्रचार (प्रोपोगान्डा) हुन सक्ने भन्दै बचाउ गरेका छन।”









