काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका बाढी तथा विपद् प्रभावित क्षेत्रको पुनःस्थापना, राहत, कानुनी जटिलता, विकास निर्माण तथा संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा छलफल भएको आङदेम्बेले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीज्यूसँगको भेटमा मुख्यगरी रसुवामा बाढी र विपद्का कारण प्रभावित भएका क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारका विषयमा छलफल भयो ।
राजमार्गसँग सम्पर्कविच्छेद भएका विभिन्न वडामा बेलीब्रिजलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानुनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढाउने विषयमा पनि हामीले ध्यानाकर्षण गरायौँ ।साथै, संसदमा उठेका विषयको गम्भीरतालाई बुझेर प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने विषयमा पनि मैले आग्रह गरेको छु ।’ रसुवाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न वडाहरू राजमार्गसँगको सम्पर्कबाट विच्छेद भएको उहाँले जानकारी दिनु भयो । ती क्षेत्रमा बेलीब्रिज निर्माण तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको उहाँले बताउनु भयो ।
विभिन्न मन्त्रालयसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत अवरोध भए त्यसलाई हटाएर आवश्यक योजना प्रस्तुत गरी बजेटको व्यवस्था गर्दै काम अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको आङदेम्बेले बताउनु भयो।भेटमा प्रधानमन्त्री शाहको संसद् उपस्थितिको विषय पनि आफूले उठाएको उहाँले बताउनु भयो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि संसद्मा उठेका विषयबारे जानकारी गराउन आग्रह गरे पनि समय अभावका कारण त्यसबेला भेट हुन नसकेको उहाँले बताउनु भयो।महासभाबाट फर्किएपछि प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका विषयको गम्भीरताबारे जानकारी लिनुपर्ने र सरकारको धारणा संसदमै राख्नुपर्नेमा आफूले जोड दिएको आङदेम्बेले बताउनु भयो ।
संसदमा प्रधानमन्त्रीको उपस्थितिले उठाइएका विषयलाई अन्तर्राष्ट्रियकरण गर्न तथा कूटनीतिक रूपमा थप बलियो बनाउनसमेत सहयोग पुग्ने उहाँको भनाइ थियो । त्यस्तै, सञ्चार तथा क्षेत्रीय सहकार्यसँग सम्बन्धित विषयमा पनि छलफल भएको उहाँले बताउनु भयो । प्रधानमन्त्रीले उठाउँदै आएको त्रिदेशीय सहकार्यलाई सीमित नराखी हिन्दुकुश हिमालय क्षेत्रसँग सम्बन्धित सबै मुलुकसँग पहुँच विस्तार गर्दै अघि बढ्नुपर्ने सुझाव आफूले दिएको आङदेम्बेले बताउनु भयो।









