काठमाडौं,१४ कार्तीक । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकार माथि धरपकड, हस्तक्षेप तथा दमन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताउनु भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै घिसिङले प्रेस स्वतन्त्रता माथिको दमन लोकतन्त्र माथिकै प्रहार भएको बताँउनु भएको छ। उहाँले नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई नागरिकका मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै ती अधिकार सरकारको इच्छा वा निगाहमा निर्भर नरहेको उल्लेख गर्नु भयो।घिसिङले झन्डै दुई तिहाइ जनमतको समर्थन प्राप्त निर्वाचित सरकारले संविधानको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यताको संवद्र्धन र नागरिक अधिकारको सुनिश्चितता गर्नुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा सञ्चारमाध्यम माथि दबाब सिर्जना गर्ने कार्यप्रति आपत्ति जनाँउनु भएको छ।
उहाँका अनुसार सरकारका कामकारबाही माथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु, सत्यतथ्य सार्वजनिक गर्नु र नागरिकलाई सुसूचित गर्नु पत्रकारिताको जिम्मेवारी हो । उहाँले पत्रकारितालाई अपराधका रूपमा चित्रित गर्ने वा आलोचनात्मक आवाज दबाउने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने बताँउनु भएको छ।घिसिङले आलोचनालाई शत्रु ठान्ने, असहमतिलाई निषेध गर्ने र प्रश्न उठाउने आवाज दबाउने प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने बताँउनु भएको छ। लोकतन्त्रको शक्ति सरकारको बहुमतमा मात्र नभई नागरिक स्वतन्त्रता, विधिको शासन र जवाफदेहितामा निहित हुने उहाँले बताँउनु भयो ।‘सरकार जतिसुकै शक्तिशाली भए पनि संविधानभन्दा माथि हुन सक्दैन। बहुमतले शासन गर्ने अधिकार दिन्छ, नागरिकका मौलिक अधिकार कुण्ठित गर्ने छुट दिँदैन,’ घिसिङले विज्ञप्तिमा भन्नु भएको छ।
उहाँले प्रेस स्वतन्त्रता माथि हुने सबै प्रकारका हस्तक्षेप, धरपकड र दमन तत्काल रोक्न सरकारसँग माग गर्नु भएको छ। साथै पक्राउ परेका पत्रकारको कानुनी अवस्था सार्वजनिक गर्न, उनीहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न तथा स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।स्वतन्त्र प्रेस लोकतन्त्रको पहरेदार भएको उल्लेख गर्दै घिसिङले पत्रकारको कलम रोक्दैमा सत्य नरोकिने र प्रश्न दबाउँदैमा सरकार जवाफदेहिताबाट उम्किन नसक्ने बताँउनु भयो ।










