जनकपुर,२६ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले छठ पर्व जनकुरधाममा मनाउने हुनु भएको छ । उहाँहरुले छठ पर्वको सम्पूर्ण विधिहरु जनकपुरधाममै बसेर पूरा गर्ने रास्वपाका नेता एवम् सांसद मनिष झाले बताँउनु भएको छ । बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद झाले छठ पर्वको विधिहरु निष्ठापूर्वक सम्पन्न गर्न सभापति लामिछानेसँग टेलिफोनमा कुरा भएको जानकारी दिनु भयो । उहाँले जनकपुरधामकै कुनै सर्वसाधारणको घरमा बसेर सभापति लामिछाने र उहाँकी धर्मपत्नी निकिताले सम्पूर्ण विधिहरु गर्ने बताँउनु भयो । पार्टीमा आवद्ध नभएको र नजिकको चिनजान वा आफ्न्तको घरमा नभई सर्वसाधारण स्थानीयको घरमा बसेर सम्पूर्ण विधिहरु गर्ने तय भएको सांसद झाले बताँउनु भयो।
सांसद झाका अनुसार गंगासागर पोखरीमा सभापति लामिछाने र उहाँकी पत्नी निकिताले अर्घ लगायतका विधिहरु पनि गर्नु हुने छ । तर भीडलाई मध्येनजर गर्दै उहाँहरु केही समय पहिला वा केही समय पछि घाटमा आउने सांसद झाले जानकारी दिनु भयो । सांसद झाका अनुसार सभापति लामिछानेको जनकपुर बसाईका क्रममा राजनीतिक भेटघाट र कार्यक्रम कम हुने र छठ पर्व केन्द्रित बढी हुनेछ । उहाँले जनकपुरधामका बढी भन्दा बढी पोखरीहरुको बारेमा सभापति लामिछानेलाई जानकारी गराउने बताँउनु भयो ।
प्रधानमन्त्री बालेन्द्र शाह पनि जनकपुरधाम आउने भन्ने हल्ला चलिरहेको विषयमा सांसद झाले शुक्रबार विहान मात्र यकिन भन्न सकिने बताँउनु भयो । सम्भावना कम रहेपनि यकिन जानकारी भोली विहान मात्र दिनसक्ने सांसद झाको भनाइ छ ।यता जनकपुरधामका घाटहरु सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । चार दिनसम्म निष्ठापूर्वक मनाईने छठ पर्वको शुक्रबार पहिलो दिन नहाय खाय विधि हुँदैछ । त्यस्तै शनिबार खरना विधि हुनेछ भने आइतबार मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिईनेछ ।










