काठमाडौं ,१२ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताँउनु भएको छ ।शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कर्णालीले रास्वपाका उम्मेदवारलाई जिताए वा नजिताए पनि प्रदेशको विकासमा पार्टीले ध्यान दिने बताँउनु भएको छ ।उहाँले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पार्नु भयो। रास्वपाका उम्मेदवारलाई जिताए मात्रै विकास गर्ने र मत नदिए विकास नगर्ने भन्ने सोच पार्टीको नरहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नु भयो, ‘हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ, चाहे जीवनभर हारौँ। रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक जना मात्र पनि नपठाओस्, एक भोट पनि नदियोस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’उहाँले कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गर्नु भयो। पार्टीको आवाज कर्णालीका दूरदराजसम्म पु¥याउन नसकिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कर्णालीका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाँउनु भयो।लामिछानेले रास्वपाको स्थापना शान्तिपूर्ण विद्रोहको उद्देश्यसहित भएको बताँउनु भयो। मुलुकले विगतका विद्रोहको भार धान्न सक्ने अवस्था नरहेको भन्दै उहाँले रगतको एक थोपा पनि नचुहाई तथा कुनै परिवारलाई पीडामा नपारी परिवर्तनका लागि विद्रोह गर्ने उद्देश्यले पार्टी स्थापना गरिएको उल्लेख गर्नु भयो।
उहाँले भन्नु भयो, ‘यही विद्रोह शब्दलाई रातो होइन, निलोमा परिणत गर्ने उद्देश्य बोकेर रास्वपाको जन्म गरायौँ, रगतको एउटा थोपो पनि नचुहाईकन, कुनै आमाको कोख नरित्याईकन, कुनै दिदीबहिनीको सिउँदो नउजाडीकन, कुनै बालबालिकालाई टुहुराटुहुरी नबनाईकन पनि एउटा विद्रोह गर्नु थियो, गर्यौं ।’उहाँका अनुसार परम्परागत राजनीतिक दलबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको भन्दै विभिन्न दलमा लामो समय बिताएका नेता तथा कार्यकर्तासमेत रास्वपामा जोडिएका छन्। जनताको चुलो र जनजीविकासँग जोडिने परिणाममुखी राजनीति आवश्यक रहेको उहाँले बताँउनु भयो ।
रास्वपाले स्थापनाको चार वर्षमै ठूलो राजनीतिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले अब जनताले अपेक्षा गरेअनुसार परिणाम दिने जिम्मेवारी पार्टीको काँधमा रहेको बताँउनु भयो । उहाँले पार्टीको यात्रा सुरुवात मात्रै भएको भन्दै आगामी दिनमा कामबाट परिणाम देखाउनुपर्ने धारणा राख्नु भयो।त्यस्तै, लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्तालाई नेताहरूको घेराभन्दा बाहिर रहेर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताँउनु भयो। आफू प्रशिक्षणका क्रममा आसपासका बस्तीमा नागरिकसँग भेटघाट गर्न जाने र त्यस क्रममा पार्टीका नेता तथा कार्यकर्तालाई आफूसँग नआउन आग्रह गर्नु भयो।उहाँले जनतासँग प्रत्यक्ष जोडिन चाहेको भन्दै नेताहरू र कार्यकर्ताको भीडभन्दा बाहिर रहेर नागरिकका वास्तविक समस्या र गुनासा सुन्ने इच्छा व्यक्त गर्नु भयो।










