दमक, मंसिर २२
आफ्नो ठाउँमा नेपालकै अग्लो टावर निर्माण हुनुले गौरब गर्दै यसबाट फरकखाले विकास र पर्यटन प्रवद्र्धन हुने आशामा झापाको दमक नगरवासी खुसी भएका छन् ।
पूर्वपश्चिम मुख्य सडकको ताराबारी उत्तर दमक वडा नं. ३ मा ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको १८ तले टावर आकारको भवनको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरीको भव्य तयारीबाट स्थानीयमा उत्साह जागेको छ । प्रधामन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो टावर प्रधानमन्त्री ओलीकै पहलमा गौरबको आयोजनाका रुपमा रहेको छ । पूर्वको फरक आकर्षकस्थलका रुपमा लिइएको टावरलाई यसबेला आकर्षकरुपले सजाउने काम भएको छ । टावरकोे वरिपरी पानीका फोहोरा, आकर्षक बत्तीसहितको मनोरमस्थल तयार छ ।
‘नेपालकै अग्लो सो टावरले दमक मात्र नभएर नौलोखाले पर्यटकस्थलको रुपमा पूर्वकै लागि उत्साह ल्याएको देखिन्छ ।’ स्थानीय सामाजिक अगुवा इन्द्र भण्डारीको ठहर छ ।
यसलाई ‘दमक भ्यू टावर’को नामबाट निर्माण सुरु भएको र पछि ‘दमक बिजनेस कम्प्लेक्स’ नामाकरण गरिएको थियो । यो टावर १ वर्ष अघि नै निर्माण सम्पन्न भएपनि त्यसको सञ्चालनका सम्बन्धमा संघीय सरकारले नीति बनाउन समय लागेपछि यसबेला उद्घाटन हुने अवसर जुरेको छ ।
स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको थियो । टावरका विषयमा राजनीति पक्ष र विपक्षका हिसाबले हेर्ने र तर्क गर्ने कुराले पनि ठाउँ पाउँदै आएको थियो । यसबीच यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।
केही समय अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरी यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको थियो । टावरको सञ्चालनको नीति निर्माण सरकारले तय गरेपछि यसखाले गौरबको योजनाले कोशी प्रदेशलाई गौरबको अनुभूति प्रदान गरेकोे कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाको बुझाई छ ।
२०७६ असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलान्यास गर्नुभएको थियो । एक सय मिटर अग्लो सो कप्लेक्स १८ तलामा विजाजित छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ ।
कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँ लागत लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीले जनाएको छ । जस अनुरुप यसको लागत एक अर्ब ४५ करोड हुन पुगेको छ । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले टावर निर्माणको जिम्मा पाएको थियो ।









