उर्लाबारी, मंसिर २५
आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको मोरङको उर्लाबारी-२ को प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले ७ वटा पोखरी निर्माण गरेर त्यसलाई सजाउँदै फरकपन प्रदान गरेको छ ।
मंगलबार पूर्वोत्तर मोरङ पत्रकार समूहको आयोजनामा उर्लाबारीको किसानचोकबाट करिब २ किलोमिटर उत्तर पश्चिममा पर्ने प्रगतिशील सिमसार प्रवद्र्धन कार्यक्रम गरिएको हो । पर्यटकीय गन्तव्य बनाउन सञ्चारकर्मीहरुको महत्वपूणर् भूमिका रहने भएकाले पूर्वोत्तर मोरङका पत्रकारहरुको सहभागितामा प्रवद्र्धन कार्यक्रम गरिएको प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तारिलाल धिमालले बताउनुभयो । उहाँले प्रगतिशील सिमसारलाई पर्यटकीय स्थल बनाउन पहल गरिरहेको उल्लेख गर्दै सबैको साथ र सहयोगमा पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य गराउने जमर्को रहेको बताउनुभयो ।

उहाँले ११ वर्ष अघि मनोहर सामुदायिक वनबाट छुट्टिएर १ सय ४२ हेक्टर क्षेत्रफल रहेको सो वनमा ३ सय ५० घरधुरी उपभोक्ता रहेका जनाउँदै कुकाठको मात्र वन रहेकाले पोखरी निर्माण गरी सिमसारको विकास, माछापालनसहितका व्यवसायमूलक कार्यक्रम अघि बढाइएको उल्लेख गर्नुभयो । सांसद कुलप्रसाद साम्बाको संसद विकास कोषमार्फत पोखरी निर्माणमा सहयोग प्राप्त भएको तथा जलाधार कार्यक्रम र चुरे उत्थानशील कार्यक्रमले पनि सहयोग पुर्याएको जानकारी दिनु भयो ।

उहाँले पर्यापर्यटनको अवधारणा अघि बढाउँदै सिमसार क्षेत्र, वनभोजस्थल निर्माण गरिएको र त्यसलाई व्यवस्थित गर्दै पार्क, स्थानीय खानाको व्यवस्थापन अनि वनमा बेसार, अदुवा, कागती खेती लगाइने कुराको बेलिविस्तार लगाउनु भयो । उहाँले भन्नुभयो ‘यी सबै कुरालाई व्यवस्थित हिसाबले अघि बढाउँदै लगिन्छ नै । तर दुई खोलाको बीचमा रहेको रमणीय ठाउँलाई पुलको चाँही मुख्य आवश्यकता छ ।’ त्यहाँ डुम्मा खोलालाई एकातिर बारेर पोखरीहरु निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन समितिले निकै मेहनत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले सामुदायिक वनहरुले पछिल्लो समय पर्यटन प्रबद्र्धनका लागि महत्वपूणर् भूमिका खेल्दै आएको र छोटो समयमा प्रगतिशील सिमसारले फरकपनकोे आकर्षण भर्दै गरेको जनाउनु भयोे ।

वनभोज सहितको कार्यक्रमकोे संयोजन गर्नुभएका सञ्चार क्लबका पूर्व अध्यक्ष सरोज बस्नेतकोे अध्यक्षताको कार्यक्रममा पत्रकारहरु हरि कोइराला र केदार चौहानले सबै सिमसारहरुले एउटै ढंगका पर्यटकीय स्थल बनाउनु भन्दा पनि फरक ढंगले प्रस्तुत हुन तथा यसको प्रचार प्रसार समेत आवश्यक रहेको बताउनुभयो ।
पत्रकार घनश्याम भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा पूर्वोत्तर मोरङका ४० भन्दा बढी सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । उर्लाबारीका दीपक भण्डारीले निर्माण गर्नुभएको बाँदर तथा हात्ती तर्साउन मिल्ने उपकरणको पनि सोही कार्यक्रममा प्रदर्शन गरिएको थियो ।









