बिना स्वार्थ सिर्जनशील काम गरेका हौं, किन हिलो छ्याप्नु हुन्छ ?

केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो । कतिपयले यही भ्रममा भाका मिलाउनुभयो; कतिपय मौन बस्नुभयो; कतिपयले तथ्य बुझेर अरुलाई बुझाउनुभयो ।

 

समाजमा अनेक किसिमका मानिस हुन्छन् । कतिपयले अफवाहलाई नै सत्य मान्नुहुन्छ; कतिपयले सत्यलाई नै अफवाह मान्नुहुन्छ; कतिपयले सत्यलाई पर्गेलेर तथ्यको खोजी गर्नुहुन्छ ।
यस्तो अफवाह फैलिरहँदा कतिपय साथीले केही जवाफ नदिनु भन्नुभयो; कतिपयले प्रश्न उठेपछि जवाफ दिनुपर्छ भन्नुभयो । म यसै मौन बसेर सामाजिक सञ्जालमा फैलिएको रमिता हेर्दै थिएँ र इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ सम्झिँदै थिएँ । मेरा प्रिय पाठक, शुभचिन्तक, आफन्त र बुझ्न चाहनेहरुका लागि केही भन्नुपर्छ भन्ने लागेर आज केही लेख्दै छु ।

 

यो जवाफ होइन; स्पष्टीकरण हो । हुन त लेखक कृष्ण धरावासी, जीवा लामिछाने, सीमा आभासलगायत यसलाई बुझ्नुहुनेहरु धेरैले लेखिसक्नु र भनिसक्नुभएको छ । म पनि केही लेख्दै छु ।

 

हामी अध्ययनशील प्राणी हौं । अध्ययनका लागि संसार नै विश्वविद्यालय हो । त्यसैले अध्ययन गर्न चाहने प्रतिभावनहरुका लागि देशविदेशमा अनेक प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ । यसमा आफू पनि छनौटमा परुँ भनेर हामी सहभागी हुन्छौं । जुनसुकै देशमा छात्रवृत्ति पाए पनि खुसी हुँदै अध्ययन गर्न जान्छौं । यसप्रकारको वृत्तिबाट धेरै विद्वान् जन्मिएका छन् ।

 

त्यस्तै २०६५ सालमा जर्मनीबाट तत्कालीन जीटीजेडमार्फत टाउन राइटर रेजिडेन्स प्रोग्रम भनेर नेपालमा लेखनवृत्तिको परियोजना आयो । त्यसमा हामी पाँच जना लेखक छानियौं । भक्तपुरका लागि कृष्ण धरावासी, बुटवलका लागि भीष्म उप्रेती, धरानका लागि सीमा आभास, धनगढीका लागि प्रकाश आङ्देम्बे र नेपालगञ्जका लागि म ।
त्यस दुई महिने लेखनवृत्तिमा हामीले आआफ्नै शैली र शिल्प प्रयोग गरेर स्वतन्त्र किसिमले पाँच किताब लेख्यौं । मैले पानीको घाम नामक आख्यान लेखें, जुन २०६६ सालमा प्रकाशित भयो । पहिलो किताब नै लेखनवृत्ति पाएर सम्बन्धित ठाउँको स्थलगत अध्ययन गरी लेख्न पाउनु मेरा लागि महङ्खवपूर्ण अवसर थियो । हामी आफूले सकेसम्म सिर्जनशील भएर लेख्यौं । किनभने, हामी लेख्नका लागि विषय, विधा र सम्पूर्ण तरिकाले स्वतन्त्र थियौं । धेरैले किताब मन पराउनुभयो; पानीको घाम (२०६६)ले पद्मश्री साहित्य पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित पनि भयो ।

 

यसप्रकारका लेखनवृत्तिहरु देशविदेशमा सञ्चालन भइरहनुपर्छ । यो संसारभरिको अभ्यास हो । यसबाट संसारमा धेरै राम्रा लेखकहरुले अवसर लिएका छन् । तर यति राम्रो सिर्जनशील कार्यका लागि पाएको लेखनवृत्तिमा कतिपयले हिलो छ्यापेको देख्दा दुःख लागेको छ ।

 

विकासका लागि पनि अनुदान (ग्रान्ट) आउँछन् । यस प्रकारका अनुदानबाट नेपालमा धेरै राजमार्ग, सडक, पुल, विद्यालय, विश्वविद्यालय, जलविद्युत योजना र ठूलाठूला भवन बनेका छन् । चीनको अनुदानमा अहिलेको हाम्रो संसद भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह) नै बनेको छ । के अब हामी अनुदानमा बनेको भनेर संसद भवनमा संसद नै नचलाउने ? अनुदानमा बनेका ती सडकहरुमा नहिँड्ने ? ती जलविद्युत गृहबाट उत्पादित बत्ती नै नबाल्ने ? ती विद्यालय र विश्वविद्यालयमा नपढ्ने ? हामी केही किन यति अराजक भयौं ? यसले कहाँ पुर्‍याउँछ ?

 

हामीले पनि सानो एउटा अनुदान (ग्रान्ट) मा किताब लेखेका हौं; बिना स्वार्थ सिर्जनशील काम गरेका हौं । यसमा त खुसी हुनुपर्छ । बरु तपाईंहरुले हामीले लेखका किताबहरुको स्वतन्त्र मूल्याङ्कन गर्न सक्नुहुन्छ । कृपया पानीको घाम लगायत हामी पाँचै जनाले उक्त अनुदानमा लेखका किताबहरु पढ्नुहोस् र तिनका बारेमा समीक्षा गर्नुहोस् ।

 

गर्व गर्नुपर्ने कुरामा गाली गर्ने संस्कारले हामीमा घृणा र उपेक्षा भाव मात्र जन्माउँछ । त्यसैले सत्यतथ्यलाई बुझेर स्वस्थ बहस गरौं । सिर्जनशील लेखकहरुलाई हतोत्साहित नबनाऔं । यो अफवाहलाई चिर्ने साहित्यकार, साहित्यप्रेमी तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद । अफवाह फैलाउने र त्यसमा भाका मिलाउनेहरुलाई प्रेम नै प्रेम । किनभने, प्रेमले द्वेष भाव र मनको मैले पखाल्न सघाउँछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय