दमक, चैत ११
दमक नगरपालिकाका सहरीकरण भएका वडा वडामा कौशी खेतीको कार्यक्रम अन्तर्गत पछिल्लो पटक वडा नम्बर ६ ले ३ दिने तालिमसँगै अर्गानिक उत्पादनका लागि आवश्यक बीउ, मलसहितका सामग्री वितरण गरेको छ ।
सबैभन्दा बढी बजार क्षेत्र रहेको वडा नम्बर ६ ले कौशी खेतीको तालिम समापनका अवसरमा आइतबार प्रांगारिक मल, यो सिजनमा रोपिने सागसब्जीका बीउ, पोलि ब्याग र पानी हाल्ने हजारीसमेत सहभागिलाई प्रदान गरेको छ ।
समापनका अवसरमा प्रमुख अतिथि नगरको सामाजिक विकास समिति संयोजक सारदा भट्टराईले कौशी खेती गरी विरुवाहरुसँग रमाएर अर्गानिक सागसब्जीको आवश्यकता टार्न यसखाले कार्यक्रमले सघाउने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर थापाले स्वाथ्यलाई ध्यानमा दिएर भान्सा नै हो औषधालय भन्ने अवधारणाबाट अघि बढाएर पछिल्ला वर्षमा कौशी खेतीका रुपमा लगिएको प्रसंग अघि सार्दै सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । आफ्नो आयु वढाउन आफैंले अर्गानिक उत्पादन गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।
कार्यक्रममा कार्यपालिका सदस्य वीणाकुमारी साह, कमला बस्नेत खाती, सामाजिक व्यक्तित्व बुद्धिशेखर भट्टराईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
तालिमको कृषि प्राविधिक रुपक बुढाथोकी र सविना पराजुलीले सहजीकरण गर्नुभएको थियो ।
तालिमका प्रशिक्षार्थीमध्ये सुनौलो टोल विकास समिति सचिव हस्तबहादुर कटुवालले तालिमले कौशी खेतीकालागि प्रभावकारिता हाँसिल भएको बताउनु भयो ।
४० जनाको सहभागिता रहेको तालिमका लागि १ लाख बजेट विनियोजन गरिएको वडा सचिव प्रकाश घिमिरेले जनाउनु भयो ।


