दमक, चैत १२
तस्करीको भारतीय नम्बर प्लेटको स्कार्पियोमा नेपाली नम्बर प्लेट हालेर चलाएको आरोपमा प्रहरीले झापाबाट स्कार्पियोसँगै एक भारतीयसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । उता, मोरङको विराटनगरबाट यातायात कार्यालयमा सेवाग्राहीलाई ठग्ने विचौलियाको काम गर्ने १२ जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोसलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुवै जनालाई मेचीनगर नगरपालिका ६ स्थित काँकडभिट्टा बसपार्क क्षेत्रबाट सोमबार राति सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
भारतीय स्कार्पियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाएर ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
नेपालबाट पुरानो गाडी भारतीय सहर लगेर त्यहाँको नयाँ गाडीमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सूचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो ।
१२ बिचौलिया पक्राउ
यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले सेवाग्राहीलाई ठग्ने १२ जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जनाउनु भयो ।


