दमक, चैत १४/
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध चलखेल हुने गर्दछ । त्यसलाई नियन्त्रणमा भन्सार कार्यालयको कडाइका कारण दुई सय मेट्रिक टनभन्दा बढी सामान भन्सारमा अड्किएको छ ।
विमानस्थल कार्यालयले झिटीगुन्टा र व्यावसायिक सामानको जाँचपासमा कडाइ गर्न थालेपछि विमानस्थलको गोदाम नै भरिने गरी सामान थुप्रिएको हो । भन्सारले विदेशबाट आउने सामग्रीलाई दुई भागमा विभाजन गरेको हुन्छ– पहिलो, व्यावसायिक र दोस्रो, व्यक्तिगत मालवस्तु । विदेशबाट आउँदा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ल्याइने निश्चित परिमाणका वस्तुलाई भन्सारले महसुल छुट दिने व्यवस्था गरेको छ । यस्तो सामानलाई झिटीगुन्टा भन्ने गरिन्छ । यसबाहेकका सामानलाई भने व्यावसायिक मालवस्तु भनिन्छ । यसमा तोकिएको दरमा भन्सार तथा आयात निर्यातसबन्धी अन्य प्रक्रियागत व्यवस्थासमेत लागु हुन्छ ।
कार्गो तथा कुरियर सेवा प्रदान गर्ने कम्पनीमार्फत् व्यक्तिले पठाएको सामानलाई पनि झिटीगुन्टाकै सरह मानेर भन्सार छुट दिइँदै आएको थियो तर, सोही माध्यमबाट व्यावसायिक सामान ल्याउँदा भने भन्सार महसुल लिएरमात्रै जाँचपास गरिँदै आएको थियो । गत फागुन ११ गते बसेको भन्सार कार्यालयको व्यापार सहजीकरण सम्बन्धी बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गर्न थालेपछि भन्सार विन्दुमा सामान थुप्रिने गरेको हो ।


