भर्खरै सकिएकाे एसईई परीक्षाका बारे सम्झँदा निकै रमाइला किस्साहरू यादमा आउन थाले । विद्यालयहरूले १३ वर्षसम्म मिहिनत गरेर पठनपाठन गरी विद्यार्थीलाई सरकारले सञ्चालन गरेको एसइइ परीक्षामा सहभागी गराएको अवस्था हो यो । एकदिन म परीक्षा केन्द्रमा पुगेको संयोग थियो । केन्द्राध्यक्ष ग्राउण्डमा विद्यालयका शिक्षकहरूसँग परीक्षा हलमा जाने समय मिलाइरहेका थिए । उनका सहयोगीहरू परीक्षा केन्द्रभरि 10/15 मिटरको दूरीमा सुराकीको भूमिकामा थिए ।
मेरो काम उक्त विद्यालयको आईटी कोठामा थियो । म त्यता जाँदै गर्दा सिंढी छेउका परीक्षा कोठाहरू भिडभाडग्रस्त देखिन्थे । एक परिचित शिक्षक आफ्ना विद्यार्थीलाई “यो लेख, यो लेख“ भन्दै उत्तर सिकाइरहेका थिए । अर्को कोठामा झ्यालबाट चियाएँ— त्यहाँ पनि अर्का शिक्षकले त्यही काम गरिरहेका थिए ।
मेरो काम सकेर ग्राउण्डमा झरेँ । त्यहाँ काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, एसपीलगायतको टोली उपस्थित थियो । तर उनीहरूलाई व्यवस्थित रूपमा अल्मल्याउने टिम नै छुट्टै थियो । सुरुमा खाजा, त्यसपछि चिया, फेरि फलफूल ल्याउँदै ४५ मिनेट व्यर्थै बिताइयो । म छेउमै फेसबुक चलाइरहेको जस्तो गरी बसिरहेको थिएँ ।
त्यत्तिकैमा अर्को विद्यालयका प्रिन्सिपल आइपुगे । उनले केन्द्राध्यक्षसँग भने,“सर, आज मेरो शिक्षक चेन्ज भयो है, उहाँलाई परीक्षा हलभित्र एक घण्टा त राख्दिनै पर्छ । “केन्द्राध्यक्ष मुस्कुराए, कपाल कन्याए र भने, “अब तपाईँले भनेपछि हुँदैन कसरी भन्नु मैले” ।
त्यसपछि ती प्रिन्सिपल गए । मैले बिस्तारै केन्द्राध्यक्षलाई भनें, “यसरी नाङ्गो नाच नै नचाउनु पर्ने हो ? अलि बढी भएजस्तो लागेन?”
मेरो कुरा सुनेर छेउमै बसेका अर्का शिक्षकले भने, “हैन नि सर, यहाँ साथीभाइ चाहिन्छन्। नत्र विद्यार्थी पास नै हुँदैनन्, के गर्नु त?”
यो सुनेपछि मेरो मनमा प्रश्न उठ्यो— विद्यार्थी पास नै हुँदैनन् भने विद्यालयले बिहानदेखि बेलुकासम्म अतिरिक्त कक्षा किन चलाउने? किन उनीहरूलाई अनावश्यक दबाब दिने? अनि किन अभिभावकलाई आर्थिक रूपमा शोषण गर्ने?
अर्को दिन म आफ्नै घर नजिकको परीक्षा केन्द्रमा गएँ । चिनजानका प्रिनिसपल भएकाले सजिलै पस्ने बानी परिरहेको थियो । तर भित्रको दृश्य झनै निराशाजनक थियो । कोही चिट लेखिरहेका थिए, कोही सारिरहेका थिए, कोही बोर्डमै उत्तर लेखिरहेका थिए, अनि ती सबै गतिविधिलाई सकेसम्म छिटो सम्पन्न गराउने समूह नै थियो ।
मैले केन्द्राध्यक्षलाई सिधै भनेँ, “गुरु, यो के भैराख्या हो ? अब एसइइको मान्यता सकिएको जस्तो देखिन्छ त ? परीक्षा हललाई सब्जी बजार बनाउनु भन्दा त विद्यार्थीलाई सिधा पैसा लिएर ग्रेड दिनु उति हुँदैन र?”
मेरो कुरा सुनेर केन्द्राध्यक्षले बिस्तारै जवाफ दिए, “रिएलिटीमा तपाईँले भनेजस्तै हो गुरु, तर, के गर्नु ? कलेज चलाउनुप¥यो । यी विद्यार्थीलाई सहयोग नगरे हाम्रो कलेजमा पढ्न मान्दैनन् । साथीभाइहरू हुन्, आस गर्छन्, अनि के गर्नु त?”
उनको जवाफ सुनेर म निस्किएँ मनभरि प्रश्नहरू लिएर । गुणस्तर सुधारका गफ दिनेहरूका अनुहार मज्जाले नियाल्ने रहर पलायो । सेटिङ् पनि थरिथरिका । चिन्तन पनि थरिथरिका । मान्छे पनि उस्तै । अखिर सेटिङ त रहेछ यहाँ गुणस्तर भन्ने विषय । निजी विद्यालयहरू कुन हदसम्म गैर–शैक्षिक हर्कत गर्छन् भन्ने बुझेपछि मलाई पठन संस्कृतिको भविष्यप्रति थप चिन्ता लाग्यो।
यदि एसइइ परीक्षालाई कलि कडा गरिएन वा निजी विद्यालय नै पिच्छेका केन्द्र खारेज गरिएन भने पठन संस्कृति बिस्तारै ह्रास हुँदै जाने छ । विद्यार्थीमा पठन संस्कृति सकिने र विद्यालयमा सिकाउने संस्कृति लोप हुने छ । गुणस्तर र चेतना ऋणात्मक बन्नेमा अब कुनै शङ्का छैन जस्तो भयो ।
पढाइमा चासो दिएन र पढ्न छाडियो भने के हुन्छ ?
नपढ्दा एउटा WISE मान्छे कस्तो बन्छ भन्ने बारे अनय त्रिपाठीले पढिएन भने “आइसक्रिमविनाको कोन जस्तो हुन्छ मान्छे, हावाविनाको बेलुनजस्तो अनि पानीविनाको पोखरी जस्तो हुन्छ” भनी उल्लेख गरेका छन् । वास्तवमा कोर्स नपढ्ने व्यक्तिले पनि पढेन भने दिनप्रतिदिन संसारमा आइराखका नयाँनयाँ चिन्तन, चेतना, ज्ञान र शैली बारे अनविज्ञ नै हुन्छ । विद्यालयका विद्यार्थीलाई पठन प्रतिस्पर्धा, लेखन प्रतिस्पर्धा, आलोचनात्मक समीक्षाको प्रतिस्पर्धा, साहित्यिक तथा वैचारिक लेखन प्रतिस्पर्धा जस्ता कार्यक्रममा उत्प्रेरित गरिनुपर्ने अवस्थामा जिन्दगीलाई नै प्रभाव पार्ने परीक्षामा पढ्नेभन्दा चिट चोर्ने, सार्ने र अङ्क ल्याउने मात्र अभ्यासमा बढी तल्लीन हुनुमा पक्कै संस्कृतिमा ह«ासोन्मुख अवस्था आएको देखिनु हो । परीक्षाका नाममा गरिएका हर्कतले विद्यार्थीमा विकास भएका दृष्टिकोणले पनि समाजमा छाप पार्न थाल्दछ । उसको देशप्रति, देशको व्यवस्था र नीतिप्रतिको धारणा नकारात्मक बन्नुमा हामी विद्यालय सञ्चालक तथा परीक्षा सञ्चालक पनि जिम्मेवार छौँ । बजारमा बेच्न राखिएका जिपिएका ठेलीहरूले ती कलिला बालबालिकाहरूलाई कच्चा सपना देख्न बाध्य बनाउने पनि हामी नै रहेछौँ भन्ने महसुस भएको छ ।
पढ्ने बानीले व्यक्तिलाई कस्तो बनाउँछ भन्ने बारे मन्धना रौधले भनेका छन्, “पढ्दा तपाईँ एकहजार जीवन बिताउनुहुन्छ । जब तपाईँ एक्लै बस्नुहुन्छ, तपाईँको पठनबाट निस्केर किताबका चरित्रहरू तपाइँसँग कुरा गर्न थाल्दछन्, साइनो जोड्न थाल्दछन् अनि तपाईँलाई घरिघरि रोमान्टिक र भावुक बनाएर जान्छन्” । उक्त अद्वितीय अवस्था प्राप्त गर्न तपाइँले पढ्नै पर्दछ ।
पढाइले हामीलाई के फल दिन्छ त ?
हामी कहिल्यै पढ्दै पढ्दैनौँ भने हामी दिनप्रतिदिन हराइरहेका छौँ । हामी यो दुनियाको चङ्गुललाई चिर्न कसैगरे पनि सक्दैनौँ । त्यसका लागि र संसारको अभ्यास बुझ्न पढ्नैपर्छ ।
• पढाइले हामीलाई खोज्ने प्रेरणा दिन्छ : आफ्ना सपनाका बारे नयाँनयाँ कुरा खोज्न किताबले सिकाउँछ । किताबले तपाईँको सपनाको हिरालाई भेटाइदिन मदत गर्छ ।
• सोचाइ र कल्पनाशील क्षमताको विकास गर्छ : जब हामी पढ्छौँ तब हाम्रो दिमागमा तस्बिरहरू आउन थाल्छन् । आफ्नो शीरमा चित्र देख्न थालिन्छ । आफ्नो मनमा कल्पनाको यान दौडिन थाल्छ । आफ्नो रगतका नसानसामा कल्पना र सिर्जनाका रेलहरू दौडन थाल्दछन् । आफूले किताबमा पढेका, सिनेमामा हेरेका र घटनामा देखेमा चरित्र आउँछन् र हामीसँग गफ गर्न थाल्दछन्, उनीहरूको गफले हामीलाई मख्ख बनाइरहन्छ । त्यसले हाम्रो सोचाइ क्षमताको विकास गरिदिन्छ ।
• जीवनलाई मुक्ति दिने मार्ग मिल्छ : प्रत्येक पटक जीवनले हामीलाई कतै न कतै धकेलेका बेला हामीले पढेका किताबका पात्रहरू आई हाम्रो हात समात्न थाल्दछन्, हाम्रो झोला प्याक गरी सुनौलो यात्रामा लैजान जमर्को गर्दछन् । विश्वको यात्रा गर्ने, आराम गराउने, अनेकौँ चिन्तन गर्ने र आफ्नो समस्याबाट बाहिर आउन प्रेरित गर्छन् ।
• हाम्रा राम्रा साथी बन्न सक्छन् : हामीले गहन रूपले पढेका किताबका चरित्र हाम्रा जीवनका हर क्षण सँगसँगै रहन्छन् । कतै यात्रामा, कतै कार्यालयमा, कतै भान्सामा त कतै भोजभतेरमा हामी ती चरित्रलाई भेटिरहन्छौँ र अनेकौँचोटी मित्रताको साइनो गाँस्छौँ । अनि ती सधैं हाम्रो सम्झनामा आइरहन्छन् ।
• आलोचनात्मक बन्छौँ : हामीले जब विभिन्न किताब पढ्छौँ, तब हाम्रा दिमागमा अनेकौँ विचार र तर्कहरू जन्मन थाल्छन् । हरेक कुरामा प्रश्न सोध्ने र त्यसको वैकल्पिक उत्तर खोजिरहने प्रयासमा हामी लाग्छौँ । फरकफरक सोंचको विकास भई हामीले हाम्रा अगाडिका प्रश्नको उत्तर खोज्न प्रयास गरिरहन्छौँ । अनुत्तरित भई जीवनलाई घिसार्नुपर्दैन ।
निष्कर्ष
पढाइको संस्कृतिको निष्कर्ष नै पठन संस्कृतिलाई जोगाऔँ अनि चिन्तन र चेतनाको विकासमा सम्बद्ध सरोकारवारा चिन्तित बनौँ भन्ने हो ।









