व्यक्ति- विशेष

वर्ग संघर्षमा दृढ इमान्दार र शालीन व्यक्तित्व पोम दाहाल

बामपन्थी आन्दोलनको मोह, शासन व्यवस्थापमा व्यक्तिकेन्द्रीत सरकारविरोधी बालमनोविज्ञान, सामाजिक विभेदविरुद्धको गर्जनले जुरुक्क उठाउन खोज्छ ।

राजनीतिक संगठनात्मक क्षेत्रको काम, भूमिका र सिकाइका हिसावले म उहाँको विद्यार्थी । लामो समययता शारीरिक हाउभाउसहितको भेटघाट थिएन । काम विशेषले उर्लाबारी नपा वडा नं. ३, मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेण्टर पुगेर फिर्ने क्रममा भेटघाट हुने संयोग बन्यो । पछिल्ला दिनमा दमकको बसाइँ गर्नुभएको भए पनि केही दिनयता मंगलबारेस्थित ज्वाई हेमन्त खतिवडाको निवासमा बस्दै आउनुभएको रहेछ ।

 

गणतन्त्रविरोधी प्रतिगामी शक्तिलाई लल्कार्न म पनि जाने थिएँ विराटनगर तर सक्दिनँ भन्दै गर्दा छचल्किएको भावलाई नजिकैबाट राम्रोसँग पढ्न सकिन्थ्यो । पढ्ने कोशिस गरेँ । आदरणीय अग्रज पोमप्रसाद दाहाल, वर्ष ७१ सँगको भेटघाट पारिवारिक स्पन्दन, वर्गस्नेह र अगाध करुणाले भरिएको रहन्छ । यसपटक पनि भयो यस्तै ।

 

तेह्रथुमको सम्धु हाल फेदाक वडा नं. ५ जन्मनुभएका पोमप्रसाद दाहाल जीवनको उत्तरार्धमा पनि डाँडागाउँ हाइस्कुल पढ्दाताका प्राप्त फलामे अनुशासनले आकर्षित र अनुबन्धित कम्युनिष्ट ज्ञान र आचरणले निर्देशित हुनुहुन्छ । श्री सम्धु माविबाट २०२८ सालमा भाइ रमेश दाहालसँगै एलएलसी उत्तीर्ण गर्नुभएका उहाँले कम्युनिष्ट आन्दोलनको गुरुका रूपमा आफूलाई रातभरि ट्युसन पढाउनुहुने गुरु ज्ञानु निरौला र सूर्यबहादुर केसीलाई अहिले पनि उत्तिकै आदरभावका साथ सम्झनुहुन्छ ।

 

पछिल्ला केही वर्षयता मुटुसम्बन्धी रोगले झटपट केही गरिहाल्न सक्ने अवस्था क्षय भएको उहाँको हिजोआजको दिनचर्यामा पहाडछँदा प्राप्त आठराइँको बामपन्थी आन्दोलनको मोह, शासन व्यवस्थापमा व्यक्तिकेन्द्रीत श्री ५ को सरकारविरोधी बालमनोविज्ञान, सामाविक विभेदविरुद्धको गर्जनले जुरुक्क उठाउन खोज्छ ।

 

एसएलसी उत्तीर्ण गरेसँगै जीवन जिउन चाहिने अनुकूल ठाउँ र पर्याप्त अर्थव्यवस्थाअभावले जेनतेन उभिन सकेको पारिवारिक कारणले मधेस झरेको दाहाल परिवारको तत्कालनी ठहराव झापाको गुहाबारीमा हुन्छ । गुहाबारीको बसाइँ पनि उतिधेरै अनुकूल नभएपछि दुई वर्षपछि बाह्रघरे सर्नुहुन्छ । पढाइको हुटहुटिले बसाइँ सर्दासर्दै व्यवस्थापन होइन, सास्ती खोप्न आइपुग्छ । दुःखजिलो गर्दै गरिएको उत्पादन र उत्पादित वस्तुको बजारसम्म पहुँच विकासका लागि बाह्रघरेदेखि दमकसम्म ओहोरदोहोर गर्दागर्दै झापाका पुराना कम्युनिष्ट संगठक मोहन धिमाल, भवानी मिश्र, इन्द्रबहादुर बुढाथोकीसँग भेटिनुहुन्छ ।

 

भैंसी पालन, दुध उत्पादन र बिक्रीवितरणले आकर्षित दाहाल परिवार नेता धिमाल, मिश्र र बुढाथोकीका लागि भेटघाटको संगमस्थल बन्न पुग्छ । कहिलेकाहिँ मोही खाने बहानामा त कहिलेकाहिँ चियापानी खाने बहानामा भेटघाटस्थल बन्न पुग्छ । उहाँहरूको संसर्ग र संगतमा परेसँगै पोमप्रसाद दाहाल २०३६ सालको बहुदलको पक्षमा खह्रो उभिन सक्ने र डटेर लड्न सक्ने कार्यकर्ता बन्न पुग्नुहुन्छ ।
बुबा चन्द्रलाल र आमा मेनुकाको कोखबाट जायजन्म हुनुभएका ३ भाइमध्ये माइलो पोमप्रसाद दाहाल बाह्रघरे निवासी भण्डारी सुयोग्य सुपुत्री विष्णुमाया भण्डारीसँग विवाहबन्धनमा बाँधिनुहुन्छ । ठूलो परिवार, कृषिमा आधारित परम्परागत उत्पादन, जोड बाँधिने क्रमविकास सँगसँगै अवसरको खोजिकै २०३९ सालमा उहाँ पथरी शनिश्चरे नपा वडा नं. २ मा बसाइँ आउनुहुन्छ । पथरी आइसकेपछि क्रमशः २ भाइ छोरा भोला, रेवत र ३ बहिनी छोरी सुमित्रा, शान्तिला र सरलाका बुबा–आमा बनिसक्नुभएका आदरणीय पोमप्रसाद र विष्णुमाया दाहाल दाम्पत्य जीवनको रथलाई एकलयमा हुइक्याउँदै कम्युनिष्ट आन्दोलनको मियो बनेर उभिनुहुन्छ ।

 

चन्द्र दाहाल, पूर्णप्रसाद चापागाइँ र रमेश भट्टराईको सम्पर्कसँगै वडा सक्रिय दल नेकपा (माले) गठन गर्दाताकाको पहिलो संगठित व्यक्तित्व हुनुहुन्छ– अग्रज पोमप्रसाद दाहाल । सुरुका दिनहरूमा टाँडीबाट धाउनुहुने तिलक बान्तवाले उहाँलाई संगठित गर्नुभयो, अलिपछि त तिलकजी स्वयं पथरी बसाइँ सराइ लिएर आउनुभयो– आफ्नो साथी र सहयोद्धा तिलकजीलाई उहाँ गहभरि आँशु झार्दै सम्झनुहुन्छ । पार्टीको सक्रिय दल निर्माणसँगै कामलाई अघि बढाउँदा निलम कन्दङवा, ललित विश्वकर्मा, पार्थबहादुर बुढाथोकीबाट प्राप्त साथ सहयोगसहितको प्रारम्भिक सहयात्रा उहाँको दिनचर्यामा अहिले पनि रमाइरहेको प्रतीत हुन्छ ।

 

जन्मसिद्ध राजा हुने र जस्तो प्रवृत्ति र प्रकृतिको भए पनि वंशका आधारमा श्रेष्ठता कायम हुने राजकाज उहाँलाई कहिल्यै मन परेन, वर्णप्रधान व्यवस्था जहिल्यै पनि अवैज्ञानिक लाग्यो उहाँलाई कहिल्यै मन परेन, सामाजिक प्रचलन र सांस्कृतिक चेत विकासले ल्याएका कैयौँ शीर्षक उपशीर्षकका विभेदका खण्डहरू उहाँलाई कहिल्यै मन परेन, २०३९ सालमा इलाममा रत्नकुमार बान्तवा र झापाको कन्काइमाइको खोला किनारमा लक्ष्मीप्रसाद पाण्डे विभत्सपूर्वक मारिनुपरेको उहाँलाई कहिल्यै मन परेन । अन्ततः पोम दाजु वर्गवैरीविरुद्ध उन्मुक्तिको लडाइँमा उभिनुभयो, क्रमशः होमिनुभयो ।
पार्टीले जनपक्षीय उम्मेदवार बनाउने, जननिर्वाचित भएर राज्यको नीतिनिर्माणको तहमा जाने र जनताको पक्षमा निर्धक्क उभिएर अग्रणी भूमिका खेल्ने, भूमिकाको प्रभावकारिता बढाउने र बामपन्थी शक्ति व्यवहारमा सही सावित गर्ने ढंगले त्यो बेला पार्टीले गरेको निर्णय निकै वैज्ञानिक थियो । पार्टी निर्णय शीरोपर गर्दै तदनुरुप हामी लाग्यौँ, पार्थजीलाई वडाध्यक्षको उम्मेदवार बनाएर हिड्यौँ, चुनाव पनि जित्यौँ, गाससको रूपमा आफू स्वयं र देवीप्रसाद घिमिरे पनि सँगसँगै चुनाव लड्यौँ, जित्यौँ । राजनीतिमा चाहिने इमान र निष्ठासाथ भूमिका खेल्यौँ । आजको कम्युनिष्ट आन्दोलन बनाउन र बचाउन त्यो समयमा आफूहरूबाट भएको त्यागले काम गरेको भन्ने लाग्छ– हर्षविभोरताका साथ सम्झनुहुन्छ आदरणीय पोमप्रसाद दाहाल ।

 

अहिलेजस्तो सजिलो र सहज थिएन त्यो बेला जनप्रतिनिधि हुन । निकै जोखिम मोल्नुपर्दथ्यो । तथापि, केही साथीहरूले विद्रोह गर्न नचाहेको भने होइन । यस्ता साथीबाट पार्टी र उम्मेदवार दुबैलाई झन धेरै खतरा थियो । कतिपय खतरा पनि मोलियो – उहाँलाई राम्रोसँग सम्झना छ । वडा सक्रिय दलबाट गाउँ सक्रिय दल बन्दा चण्डीप्रसाद राई, बसन्तीकुमारी राई, मोहनकुमार न्यौपाने, सूर्य कन्दङवा, माधवप्रसाद खतिवडा, सिर्जना रायसम्मिलित दल बन्यो । यसको रणकौशल नेतृत्व तिलक बान्तवाले गर्नुभएको थियो । यहिबेला रुद्र साम्पाङको सम्पर्कमार्फत मोहनप्रसाद तुम्बापो पार्टी काममा आउनुभयो । यो सबै कामको संयोजन र व्यवस्थापन कमरेड तिलकले गर्नुहुन्थ्यो ।

 

उहाँ भन्नुहुन्छ– पञ्चायती निरंकुशताविरोधी २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि पार्टी काम पार्टीकै ब्यानरमुनि उभिएर हुन थाल्यो । यसबेला मात्र बल्ल थाहा भयो– युवराज भट्टराई र तिलक बान्तवा पथरी शनिश्चरे इलाका क्षेत्रअन्तर्गत पार्टी सदस्यता प्राप्त गर्नुहुने पहिलो व्यक्तित्व हुनुहुँदोरहेछ । क्रमशः बसन्ती राई, पूर्णप्रसाद चापागाइँ, चण्डीप्रसाद राई, सूर्य कन्दङवा, पोमप्रसाद दाहाल, मोहनकुमार न्यौपाने, मित्र ढकाल, माधव खतिवडा, डिकबहादुर कटुवाल, हरिमाया राईलगायत पहिलोपटक १६ जनाले पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभयो र पार्टी काम पार्टीकै राजनीतिक ब्यानरमा अघि बढ्न थाल्यो ।

 

पार्टी कामको प्रत्यक्ष नेतृत्वबाहेक पनि दुई दुई पटक फराकिलो मतान्तरसहित जनप्रतिनिधि हुनुभएका आदरणीय अग्रज दाहाललाई आफूहरूले असाधारण मेहनत गरेर बनाएको पार्टीमा नियमित कार्यकर्ता भेटघाट, अन्तरसंवाद, पर्याप्त अध्ययन, चिन्तन–मनन, वर्ग र वर्गीय प्रेम, चाहिने इमान, निष्ठा, लगन र तदनुरुप नीतिगत रूपमा अवधारणा विकास हुन छाडेकोले घरिघरि खिन्न हुने गर्दछ । कसैले सम्झँदैनन्, नसम्झिए पनि हुन्छ । तर ! वर्गउत्प्रेरित आन्दोलन विभिन्न नाउँधारीले लिएको, पार्टी पंक्ति आफूकेन्द्रीत स्वार्थतर्फ सर्दैसर्दै गएको, के दिए होइन बरु के पाएँ भनेर सेवा, सुविधा, लाभ, अवसर आदिको खोजिमा रहेको कतिपय दृश्यचित्रले उहाँको मन उजाड हुने गर्दछ । पार्टी, पार्टी संगठन, समुदाय आधारित संगठन, विहानी दुग्धलगायत सामाजिक संघसंस्थामा आफू प्रत्यक्ष संलग्न रहनुभयो, योग्य उत्तराधिकारी अभाव भएजस्तो भयो अहिले । मन खुशीले हरक्क होइन, फिक्का भएजस्तो हुन्छ उहाँलाई ।

 

शारीरिक अवस्थाले सबैखाले चुनौतिलाई एकसाथ धान्न सक्दैन । चुनौतिका चाङ चिर्न जाडोयाममा तराई मधेशतिर रहे पनि गर्मीमा काठमाण्डौँ बस्नुहुन्छ । महंगो ओखतिले साटिएको दिनचर्या छ । तथापि, जनसरोकारका विषयमा सामूहिक हितरक्षा र अधिकार प्रर्वधनका लागि अहोरात्र चिन्तामग्न रहन अभिप्रेरित हुनुहुन्छ उहाँ । देशले उल्लेख्य फड्को मार्न सकेन तथापि गणतन्त्रमा केही नभएको र अहिलेको नेतृत्वले केही नगरेको भने होइन । व्यवस्थाविरोधीले अहिले गलत भाष्य विकास गराएका छन् । उहाँको यो गत्तिलो चासो, गर्विलो चिन्ता, सांस्कृतिक सदाचारयुक्त व्यवहार, अत्यन्तै मलिनपन, अन्तरघुलनशील मन, वर्गनिष्ठा र इमानबाट उद्दात सहयोगी भावनाको प्रेरणास्रोत आदरणीय पोम दाजु अतिरिक्त मानवीय क्षमता, आफूसंलग्न र सम्बद्ध समुदायप्रति उत्तरदायी र जवाफदेही दुबै गुणसम्पन्न योग्यताको धनी हुनुहुन्छ ।

 

अग्रज पोमप्रसाद दाहाल पूर्वोत्तर मोरङमा वर्गसंघषको उद्घोष गर्ने नेपाली कम्युनिष्ट आन्दोलनको एउटा जिउँदो इतिहास हो, बेदाग अनुहार हो र नलेखिएको इतिहास हो । नागरिकको श्रम, पसिना र रगत सिञ्चन भएको कुनै पनि विषयवस्तु, राजकीय सेवासुविधा र कुनै खालको लाभबाट कोशौँ टाढा तपाई अत्यन्तै शालीन व्यक्तित्वका रूपमा आफूलाई चिनाइरहनुभएको छ, निर्धक्क उभ्याइरहनुभएको छ । चिकित्सा पद्दतिले गरेको खोजअध्ययन र अनुसन्धानका निष्कर्षलाई अपनाएर जीवनलाई सहज बनाइरहनुभएको छ ।
शदियौँसम्म बाँच्नुहोस् !
हामीलाई आफ्ना उत्तराधिकारीका रूपमा बाँच्न प्रेरित गर्नुहोस् !
धेरै–धेरै शुभकामना व्यक्त गर्दछु ।

( बास्कोटा पथरी शनिश्चरेका राजनीतिकर्मी तथा समाजसेवी हुनुहुन्छ )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं,९ वैशाख । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमा लेख्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी दिनु

कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति

काठमाडौं,९ वैशाख । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगसम्बन्धी विषयमा प्रतिनिधि सभामा भएको सर्वदलीय छलफलले तत्कालका लागि विद्यमान कानुन कडाइका साथ कार्यान्वयन गर्ने र दीर्घकालीन रूपमा

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं,९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

एमाले पार्टी स्थापना दिवसको अवसमा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं,९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका

घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक

काठमाडौं,९ वैशाख। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ

सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने सरकारको तयारी

काठमान्डौ, ८ वैशाख । सरकारले सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा शिक्षा,