दमक, २३ बैशाख / दमक ८ नम्बर वडा कार्यालयले भजन किर्तन समूहको सांस्कृतिक प्रवद्र्धनमा जोड दिँदै वाद्यवादन सम्बन्धि २ महिने तालिम प्रदान गरेको छ ।
वडामा रहेका भजन किर्तन समूहलाई वडामा सूचिकृत समेत गराउँदै हार्मोनियम र मादन वादनको तालिम सञ्चालन गरिएको हो ।
तालिम समापनका अवसरमा बोल्दै ८ नम्बर वडाध्यक्ष धर्मराज दाहाल दिपेशले किर्तन मण्डलीलाई सूचिकृत गर्दै संगीतमार्फत सांस्कृतिक प्रवद्र्धन गर्न वाद्यवादन तालिम प्रदान गरिएको जनाउनु भयो ।
कार्यक्रममा सहभागिले भजन किर्तन समेत प्रस्तुत गरेर कार्यक्रम मनोरम बनाएका थिए । वडाबाट भएको यसखाले पहलबाट आफूहरु उत्साहित भएको तालिममा सहभागि देविका अधिकारी, रामचन्द्र संग्रौलासहितको प्रतिक्रिया छ । ‘अब समूहमा वाद्यवादन बजाएर आफ्नो मौलिक संस्कृति र परम्परा जोगाउन हामी झन लागिपर्छौं ।’– संग्रौलाले भन्नुभयो ।
वडामा रहेका भजन किर्तनका १४ समूहका २/२ जनाका दरले तालिममा सहभागि गराइएको थियो । १४ मध्ये गोलाप्रथाबाट हालका लागि ५ वटा समूहलाई हार्मोनियम प्रदान गरिएको छ । स्थानीय सुरसुधा संगीत विद्यालयकी सञ्चालक चन्द्रा गड्तौलाको अगुवाईमा तालिम प्रदान भएको थियो ।









