बिर्तामोड, १ जेठ / नारायण गोपाल स्मृति प्रतिष्ठान बिर्तामोडको आयोजनामा झापाली गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘माटोको सुगन्ध’विमर्श भएको छ ।
प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता र प्रसिद्ध गीतकार, सङ्गीतकार तथा गायक एवम् रेडियो नेपालका पूर्व निर्देशक डा.टीका भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारी, विशिष्ट अतिथि बरिष्ठ साहित्यकार एवम् पत्रकार चन्द्र भण्डारी तथा आख्यानकार पुण्यप्रसाद खरेलले गीतकार भट्टराईको गीतकारितामा देखिएको सफलताको चर्चा गर्दै उहाँलाई अझ सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
गीतकार भट्टराईले लेखनयात्राको आफ्नो अनुभव र अनुभूति व्यक्त गर्नुभएको थियो । कनकाई नगरपालिका ३ निवासी उहाँको यो छैटौं पुस्तक कृति हो । कार्यक्रममा साहित्यकार खगिन्द्रा खुसीले गीतकार भट्टराईको व्यक्तित्व परिचय गराउनु भएको थियो । ‘मोटोको सुगन्ध’का बारेमा साहित्यकार विवश बलिभद्र कोइरालाले समग्र परिचर्चा गर्नुभएको थियो ।
कविहरु मिलनकुमार ढुङ्गाना, जयप्रसाद आचार्य, भगवती ढुङ्गेल, गणेश निरौला, गीता सुवेदी नेपाल, शिवकुमार पौडेल, केशव आचार्य, देशु वनेम, खिलप्रसाद शिवाकोटी, दिलिप घिमिरे, मिना अधिकारी, जय भण्डारी, हस्त परियार, पूजा दाहाल आदिले ‘माटोको सुगन्ध’का रचना तथा आफ्ना रचना प्रस्तुत गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व सांसद हरिचरण शिवाकोटी, जिल्ला समन्वय समिति झापाका उपसभापति शान्ता रोका, अनिरुद्र ओली, मेची वहुमुखी क्याम्पसका पूर्व प्रमुख उमानाथ ओलीलगायतको सहभागिता थियो ।









