राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद के हो र यो कसरी जन्मिन्छ ?

कुनै पनि देश आफ्नो राष्ट्रवादमा कति सफल छ भनेर ठ्याक्कै भन्न गाह्रो छ । किनकि सफलतालाई नाप्ने कुनै निश्चित मापदण्ड छैन ।
विषयप्रवेश 
अनेक मानिसहरूको साझा विचार र स्वीकारोक्तिको समूह नै राष्ट्र हो । यसमा कुनै पूर्वाग्रह हुँदैन । मान्छे विवेकले काम गर्छ, विवेकसम्मत भएर सोच्दछ, विवेकशील भएर व्यवहार प्रस्तुत गर्दछ, उक्त विवेकशील सोंचको साझा धारणा, विश्वास, शैली, कर्म, त्याग, तपस्या, समर्पण, नैतिकता र आदर्शको मिलनविन्दु नै राष्ट्र हो । यस बारे अनेक समयमा अनेक ढङ्गले चर्चा, व्याख्या र अध्ययन भएका छन् । उक्त सन्दर्भमा अर्नेस्ट रेनन (सन् १८८२) ले राष्ट्र के हो ? भन्ने प्रश्नलाई सम्बोधन गरी प्रसिद्ध निबन्ध लेखे । उनी आफैँ पनि एक स्वतन्त्र चिन्तक, अध्येता र कुशल प्राध्यापक थिए । रेनन एक प्रशंसित ओरिएन्टलिस्ट, एक स्वतन्त्र विचारक, धर्मशास्त्री र प्रतिष्ठित कलेज डे फ्रान्सका प्राध्यापक भएका कारण पनि उनका विचारहरू स्वतन्त्र ढङ्गले अभिप्रेरित भएका देखिन्छन् । उनले राष्ट्रियताका आदर्शहरूबारे हार्दिक ढङ्गले व्याख्या, भाषण तथा लेखन गर्दा अधिकांश अध्येताका लागि चर्चाको विषय बन्यो । उक्त राष्ट्रको विषय आजको नयाँ नेपालमा पनि विभिन्न कोणबाट चर्चाको विषय बनी शैक्षिक Discourse मा अतिसामान्य व्याख्याको विषय बनेको छ ।
राष्ट्रलाई माया गर्नेहरूलाई सोध्यो भने उनीहरूले राष्ट्र एक आत्मा हो भन्ने जवाफ दिन्छन् । अनि राष्ट्रभन्दा परराष्ट्रमा आनन्द लिइरहेकाहरूलाई सोही प्रश्न सोध्यो भने यो त एक विश्वका नागरिकलाई विभाजन गर्ने कथित सीमारेखा हो भन्दछन् । सोही विषयमा अध्ययन गरिरहेका अध्येतालाई सोध्यो भने यो एक अध्यात्म र आदर्शको विन्दु हो, कठिन परिस्थितिमा सम्झन पुग्ने अन्तरमनको विचार हो भन्दछन् । अवसरवादीहरूको सामाजिक सञ्जालको अभिव्यक्ति हेर्दा राष्ट्रका नागरिकलाई ढोंगी प्रवृत्तिको विकास गरी अल्मल्याउने भुलभुलैयाको विषय हो भन्ने देखिन्छ । यथार्थमा राष्ट्र भनेको भिन्नै विषय हो र त्यस्तै देखिन्छ ।
हो, राष्ट्र भनेको नागरिकको आत्मा र अध्यात्मको विषय हो । यस विषयलाई रेनन (सन् १८८२) ले यी दुई आत्मा र अध्यात्म विषय एकै हुन् भन्दै जुन वास्तवमा एउटै भएको र मानिसहरू मिलेर यो आत्मा वा आध्यात्मिक सिद्धान्त बनेको कुरा बताएका छन् । ती दुईमध्ये एउटाले विगतलाई प्रतिनिधित्व गर्छ भने अर्काले वर्तमानलाई । एउटा स्मरणमा बाँच्ने धनी विरासतको साझा स्वामित्व हो भने अर्को वर्तमानको सहमति हो । यसर्थ यी दुवै सँगै बस्न चाहनु स्वच्छ राष्ट्रवाद हो । अनि आफूले प्राप्त गरेको सम्पूर्ण विरासतलाई निरन्तर रूपमा कदर गर्ने इच्छा पनि राष्टिडय भावना हो । हुन त मानिसले तत्कालै केही बनाउँदैन । सिर्फ अन्य व्यक्तिहरूसँग मिलेर बसी सामाजिक सम्बन्ध बनाउँछ । त्यसकारण राष्ट्र निर्माणको सुरुवात व्यक्तिको साझा धारणा र विश्वासको चरणबाट हुन्छ ।
राष्ट्र भनेको एउटा व्यक्तिको जस्तै लामो समयदेखिको प्रयास, बलिदान र समर्पणले भरिएको अतीतको पराकाष्ठा पनि हो । हाम्रा पुर्खाहरूको मान्यता, विश्वास, कदर र पूजा सबैभन्दा सत्य विषय हो, किनकि उनीहरूले हामीलाई हामी जे हौँ, जे थियौँ त्यही बनाएका हुन् । हामी आफ्नो समय, उमेर र वेलामा जस्तो सोच्थ्यौँ, त्यस्तै बन्न दिएका हुन् । जे जे प्राप्त ग¥यौँ त्यसलाई संरक्षण गर्न सिकाएका हुन् । जे जे गुमायौँ अझ धेरै गुम्न नदिन भनेका हुन् । तसर्थ इतिहासको एक वीर र साहसी व्यक्ति, अतीतको इतिहास, महान व्यक्तिहरू, सच्चा गौरव र साझा मान्यता मानिसको सामाजिक पुँजी हो । उक्त सामाजिक पुँजीबाट राष्ट्र निर्माणको यात्रा सुरु हुन्छ ।
एउटा व्यक्तिको अवस्थाले राष्ट्रलाई सङ्केत गरिरहेको हुन्छ । राष्ट्रमा देखिएको गरिब मानवताले कति धेरै दुःख पाइरहेको हुन्छ । राष्ट्रवादी विचारमा भने हामीले कति दुःख पायौँ भन्ने विचारले भन्दा राष्ट्रले कति दुःख पायो भन्ने विषयको हाबी हुन्छ । अतः असल राष्ट्रवादमा मानिसलाई अझै कति दुःख र पीडाले परीक्षा लिन पर्खिरहेका छन् भन्ने आँकलन हुन्छ । अनि व्यक्तिको बुद्धिले उसैलाई आफ्नो मार्गमा फालिएका अनगिन्ती खतराहरूबाट बचाउन मार्गदर्शन गरोस् भन्ने कामना गरिएको हुन्छ ।
त्यसविषयमा रेनन (सन् १८८२) भन्छन्–मानिस न आफ्नो जातिको दास हो, न आफ्नो भाषाको, न आफ्नो धर्मको, न नदीका मार्गको, न पहाडी शृङ्खलाहरूका दिशाको । स्वस्थ मन र न्यानो हृदय भएका मानिसहरूको ठूलो जमघटले एक नैतिक विवेक सिर्जना गर्दछ, जसलाई हामी राष्ट्र भन्छौँ । जबसम्म यो नैतिक विवेकले समुदायको सेवामा व्यक्तिका त्यागको माग गर्छ, अनि व्यक्तिका त्यागलाई साझा बलिदानका रूपमा स्वीकार्छ, त्यो विवेक नै राष्ट्रको शक्ति हो । त्यसैले व्यक्तिले गर्ने बलिदानहरूले उसको राष्ट्रप्रतिको शक्तिको प्रमाण दिन्छन् । उक्त प्रमाणबाट नै उसले राष्ट्रमा आफ्नो प्रभाव कायम गर्न थाल्दछ ।
राष्ट्रका लागि बलिदान दिनेलाई अस्तित्वमा रहने अधिकार छ । यदि सीमानामा शङ्का उत्पन्न भएमा, विवादित क्षेत्रका जनसङ्ख्यासँग परामर्श गर्नु र उनीहरूलाई पनि त्यस मुद्दामा आफ्नो राय राख्ने अधिकार दिनु राष्ट्रवादी मान्यता हो । उक्त अभ्यासले राजनीतिक रूपले उत्कृष्ट व्यक्ति, अझ त्यो जान्नेबुझ्ने व्यक्ति, जो आफ्नो जीवन आफैँलाई धोका दिँदै बिताउँछन् र आफ्ना मान्यताबाट हाम्रा सांसारिक समस्याहरूमा दया देखाउँछन्, तिनीहरूको ओठमा राष्ट्रवादी विचारले मुस्कान ल्याउँछ ।
राष्ट्रवादको असल र सफल प्रयोगमा सर्वप्रथम फ्रान्स अगाडि आउँछ । किनकि ती फ्रान्सेली विचारहरू छन्, जसले कूटनीति र युद्धलाई पनि सरल माध्यमहरूद्वारा प्रतिस्थापन गर्ने दाबी गर्छन् । उनीहरू भन्छन् – हामी पर्खौँ, उत्कृष्ट व्यक्तिहरूको शासन बित्न दिनुहोस्, शक्तिशालीहरूको घृणालाई सहने बानी बसाल्नुहोस् । सायद धेरै निष्फल हातखुट्टा फालेपछि मानिसहरू हाम्रा अनुभवजन्य समाधानहरूतर्फ फर्कने छन् । अतः भविष्यमा सही हुने तरिका भनेको निश्चित समयमा अप्रचलित हुन राजी हुनु पनि हो । फ्रान्सेलीहरूको उक्त विचारले राष्ट्रप्रति आफ्नो लगाव प्रस्ट छ भने एकदिन मौका जोकसैको आउँछ, शासकले यसो ग¥यो उसो ग¥यो भनेर चिन्ता गर्नुभन्दा उनीहरूलाई सुध्रने मौका दिनु र आफूले पर्खनु सबैभन्दा उत्तम विचार हो भन्ने विषयलाई केन्द्रमा राखेको छ ।
राष्ट्रको निर्माण कसरी हुन्छ ?
राष्ट्र कसरी बन्छ भन्ने प्रश्न निकै जटिल छ । इतिहासकार र समाजशास्त्रीहरू यस विषयमा फरक–फरक विचार राख्छन् । कसैको विचारमा राष्ट्र भाषा, जाति, धर्म र संस्कृति जस्ता तत्त्वहरूले बन्छ । तर अर्नेस्ट रेनन जस्ता विचारकहरू राष्ट्रलाई एउटा आध्यात्मिक सिद्धान्त मान्छन्, जुन साझा इतिहास र सँगैसँगै बस्ने र बाँच्ने इच्छाबाट निर्माण हुन्छ । उक्त इच्छाले मूर्त रूप लिएपछि राष्ट्र बन्दछ ।
राष्ट्र निर्माणमा शासक, राजनीतिक विचारधारा र ऐतिहासिक घटनाहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । फ्रान्सको उदाहरण लिँदा त्यहाँका शासकहरूले देशलाई एकताबद्ध गर्न र राष्ट्रिय पहिचान निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका प्रमाण पाइन्छन् । अमेरिकामा पनि एकीकृत राष्ट्रको निर्माणमा धेरै शासकले भूमिका खेलेको इतिहास देखिन्छ । नेपालमा पनि पृथ्वीनारायण शाहको इतिहासलाई राष्ट्र निर्माणको योगदानका रूपमा लिँदा फरक नपर्ला । यद्यपि त्यो प्रयासमा सीमानाको प्रभाव बढी थियो, आन्तरिक साझा तत्त्वका लागि त्यतिखेर सोंचविचार नगरिएकै हो भन्न सकिन्छ ।
राष्ट्रका अवधारणामा नयाँ मोड
राष्ट्र एउटा आध्यात्मिक सिद्धान्त हो, जुन विगत र वर्तमान दुई तत्वहरू मिलेर बनेको हुन्छ भन्ने अधिकांशका साझा मत रहेको छ । यसमा आफूमा भएका विरासतलाई निरन्तरता दिने चाहना जागृत स्वाभाविक हुन्छ । यसै परिप्रेक्ष्यमा आधुनिक राष्ट्रहरू इतिहासका पानामा नयाँ घटना हुन् । प्राचीन इजिप्ट, चीन जस्ता राष्ट्रहरू इतिहासमा प्रभावशाली थिएनन्, तिनीहरू शासकहरूद्वारा शासित थिए । फ्रान्सेली क्रान्तिपछि मात्रै राष्ट्रको अवधारणाले नयाँ रूप लियो, जहाँ राष्ट्र आफैँमा अस्तित्वमा आएको मानिन्छ ।
राष्ट्रवाद र यसका तत्त्वहरू
राष्ट्रवादले मानिसलाई एकताबद्ध गर्छ । तर यसमा केही खतराहरू पनि छन् । यसले कहिलेकाहीँ जातीय द्वेष र अरूलाई हेप्ने भावना पनि ल्याउन सक्छ । राष्ट्र निर्माणमा भाषा, धर्म, भूगोल र साझा हितजस्ता तत्त्वहरूले भूमिका खेल्छन् । यीमध्ये कुनै पनि तत्त्व पूर्ण राष्ट्र निर्माणका लागि पर्याप्त छैनन् । बरु साझा इतिहास, बलिदान र सँगैसँगै खाने, बस्ने र काम गर्ने इच्छाजस्ता कुराहरूले राष्ट्रलाई बलियो बनाउँछन् ।
राष्ट्र र राष्ट्रवाद
राष्ट्र र राष्ट्रवाद दुई यस्ता शब्द हुन्, जसलाई हामी अक्सर एकै अर्थमा प्रयोग गर्छौँ । तर यी दुईमा धेरै भिन्नता देखिन्छ । राष्ट्र एउटा राजनीतिक र सामाजिक संरचना हो, जुन साझा भूगोल, भाषा, संस्कृति र इतिहासले जोडिएको हुन्छ । यो एक अमूर्त भावना हो, जसले मानिसहरूलाई एकताबद्ध गर्छ र उनीहरूमा सामूहिक पहिचानको भावना जगाउँछ ।
राष्ट्रवाद चाहिँ यही राष्ट्रप्रतिको गहिरो प्रेम र भक्ति हो । यो एउटा विचारधारा हो, जसले आफ्नो राष्ट्रलाई अरूभन्दा महान् ठान्छ र त्यसको हितलाई सर्वोपरि मान्छ । राष्ट्रवादले मानिसहरूलाई आफ्नो राष्ट्रका लागि बलिदान दिन प्रेरित गर्छ र उनीहरूमा एकताको भावना विकास गर्छ । आफूभन्दा बढी प्राथमिकतामा राष्ट्रलाई राख्नु राष्ट्रवाद हो, राष्ट्रका लागि बलिदान दिन तयार हुनु राष्ट्रवादी मान्यता हो । अनि आफ्ना भाषा, जाति, वर्ग, समुदायसमेतको साझापनाले विचार निर्माण गर्नु राष्ट्र निर्माणमा सहयोग गर्नु हो । त्यसका लागि समर्पित हुनुचाहिँ राष्ट्रवाद हो ।
राष्ट्रवादका प्रकार
राष्ट्रवाद विभिन्न रूपमा प्रकट हुन सक्छ । कहिले यो देशभक्तिको स्वस्थ रूपमा देखिन्छ, जहाँ मानिसहरू आफ्नो देशलाई माया गर्छन् र त्यसको विकास चाहन्छन् । तर कहिलेकाहीँ यो उग्र रूप लिन सक्छ, जहाँ मानिसहरू अरू देशलाई घृणा गर्छन् र आफ्नो देशलाई सर्वश्रेष्ठ ठान्छन् । राष्ट्रको परिस्थितिका आधारमा राष्ट्रवादको आकारप्रकार छुट्टिन्छ । वि.सं.२०७२ मा नेपालविरुद्ध भारतले नाकाबन्दी गर्दा सबै नेपालीहरू नेपाल (साझा राष्ट्र) प्रति एक भई भारतविरुद्ध खनिनु, भारतलाई घृणा गर्नु विद्रोहात्मक राष्ट्रवाद हो । भर्खरै भारत र पाकिस्तानका युद्धमा सबै भारतीयहरू एक भई पाकिस्तानीविरुद्ध खनिनु अनि सबै पाकिस्तानी भारतीयविरुद्ध खनिनु विद्रोहात्मक राष्ट्रवाद हो ।
अस्ति सन् २०२४ को अन्त्यतिर सबै अमेरिकनहरू अमेरिका फेरि बनाऔँ भन्ने नारामा एकताबद्ध बन्नु, चीनमा सि जिङ् पिङ्को यात्रामा समग्र नागरिक लाग्नु देशप्रतिको मायामा जागेको भावनात्मक राष्ट्रवाद हो । त्यसैगरी देशका पक्षमा लेख्ने, बोल्ने, गर्ने र पैरवी गर्ने अनि देशका पक्षमा हतियार नै उठाउन पछि नपर्ने स्वाभिमानी राष्ट्रवाद हो । यसरी राष्ट्रवादका अनेक प्रकार र परिस्थिति भए तापनि देशको स्थितिका आधारमा यो फेरिराख्न सक्तछ ।
राष्ट्रवादको प्रभाव
राष्ट्रवादले विश्वमा धेरै परिवर्तन ल्याएको छ । यसले देशहरूलाई एकताबद्ध गर्न र राष्ट्रिय पहिचान निर्माण गर्न मद्दत गरेको छ । तर यसले युद्ध र द्वन्द्व पनि निम्त्याएको छ । पहिलो र दोस्रो विश्वयुद्ध राष्ट्रवादकै कारण भएका थिए । अस्ट्रिया र हङ्गेरीमा भएको राजनीतिक तथा मिलिटरी संलग्नता (गुट) का कारण प्रथम विश्वयुद्ध भएको थियो । त्यसको मुख्य कारण युरोपियन मुलुकले गरेका उपनिवेशका अभ्यासको विरुद्ध पनि थियो । त्यसैगरी दोस्रो विश्वयुद्धमा अमेरिका र रुसका आआफ्ना राष्ट्रवादका रुचिका कारण थिए । अहिले पनि हेर्दा आजको विश्वमा राष्ट्रवादको भूमिका झन् जटिल बन्दै गएको छ । भूमण्डलीकरणले देशहरूलाई एकअर्कासँग जोडेको छ, तर यसले राष्ट्रिय पहिचानलाई पनि चुनौती दिइराखेकोे छ । मानिसहरूले आफ्नो देशलाई बिर्सन थालेका छन् । विश्वराष्ट्रवादको अभ्यास हुन थालेको छ । आप्रवासन र बहुसंस्कृतिवादले राष्ट्रहरूको संरचना परिवर्तन गर्दैछन् ।
यस्ता अवस्थामा राष्ट्र र राष्ट्रवादको अर्थ र महत्तवमाथि पुनर्विचार गर्नु आवश्यक देखिएको छ । उक्त अवस्थालाई जोड्दै सञ्जीव उप्रेती (२०७८) लेख्छन्–अहिले विश्वव्यापी संसारमा सबै राष्ट्रका आआफ्ना राष्ट्रिय सीमाहरू छँदै छन् । हरेक राष्ट्रले अन्य राष्ट्रबाट आएकालाई आफ्नो राष्ट्रभित्र छिर्न दिने कि नदिने निर्णय गर्छन् । छिर्न दिने वा नदिने त्यहीअनुसार पद्धतिअनुरुप निर्णय गर्छन् । त्यस्तो परिस्थितिमा नेपाल जस्तो सानो मुलुकका मानिसले राष्ट्रलाई अस्विकार गर्दै साझा अन्तर्राष्ट्रियता तिर बढ्न खोजे नै पनि त्यस्तो प्रयत्नले कहीँ पु¥याउँछ जस्तो लाग्दैन ।
यदि वास्तवमै विश्वव्यापी राष्ट्रको कुरा गर्ने हो भने त्यस्तो भूमण्डलीय राष्ट्रका लागि अमेरिका, बेलायत तथा भारतजस्ता ठुला राष्ट्रले पहल गर्नुपर्ने हो तर तिनले विश्वराष्ट्रियताका विषयमा भन्दा आफ्नै राष्ट्रियताका विषयमा बढी चनाखो बढाएको देखिन्छ । यस्ता अवस्थामा नेपाल, बङ्गलादेश, भुटान जस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय बन्न खोज्नु, नेपालीपनलाई, यसको नामलाई, यसको साझा सम्पर्क भाषा, संस्कारलाई अनि समग्र मिश्रित संस्कृतिलाई स्वीकार्न छाड्नु आफैँलाई झुक्याउनु, ढाँट्नु र भिरको चिन्डो जस्तो बन्ने मार्ग बनाउनु हो ।
राष्ट्रवादका सवालमा सफल राष्ट्रहरू 
कुनै पनि देश आफ्नो राष्ट्रवादमा कति सफल छ भनेर ठ्याक्कै भन्न गाह्रो छ । किनकि सफलतालाई नाप्ने कुनै निश्चित मापदण्ड छैन । तर केही यस्ता देशहरू छन्, जसलाई धेरैले आफ्नो राष्ट्रवादी नीतिमा सफल मान्छन् । फ्रान्सलाई राष्ट्रवादका विषयमा एक सफल राष्ट्र मानिन्छ । जहाँ राष्ट्रवादले लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेलेको छ । फ्रान्सेली क्रान्तिले राष्ट्रवादको आधुनिक अवधारणालाई जन्म दियो र फ्रान्सले यसलाई विश्वभर फैलायो । फ्रान्सको बलियो राष्ट्रिय पहिचान छ, जुन भाषा, संस्कृति र इतिहासमा आधारित छ ।
जापान पनि अर्को यस्तो देश हो, जहाँ राष्ट्रवादले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
जापानको राष्ट्रवाद बलियो सांस्कृतिक पहिचान, परम्परा र इतिहासमा आधारित छ । जापानले आफ्नो राष्ट्रवादलाई आधुनिकीकरण र आर्थिक विकासका लागि प्रयोग गरेको छ । संयुक्त राज्य अमेरिका पनि राष्ट्रवादमा सफल मानिन्छ । अमेरिकाको राष्ट्रवाद स्वतन्त्रता, समानता र प्रजातन्त्र जस्ता मूल्यमान्यतामा आधारित छ । अमेरिकाले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई एकताबद्ध गर्न राष्ट्रवादको प्रयोग गरेको छ । त्यसको उदाहरणका रूपमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको नारा र अभियानलाई लिन सकिन्छ । फेरि अमेरिका जुमुराउँछ भन्ने अभियानले अमेरिकाको राष्ट्रवाद प्रस्ट झल्किन्छ ।
ट्रम्पले मेक्सिकोतिर पर्खाल लगाउनु, भारतले पाकिस्तान, बङ्गलादेश, भुटान तथा उस्तैपरे नेपाललाई पनि आफ्नो मुठ्ठीमा राख्न खोज्नु, चिनले हङ्कङ्, तिब्बत जस्ता प्रान्तमा दबदबा कायम राख्नु, इयुबाट बेलायत छुट्टिनु, गल्फ राष्ट्रहरूको साझा पहिचानमा एकता हुनु जस्ता घटना प्रस्ट छन् । अझै उत्तर कोरियाको शासक, शासकीय प्रणाली तथा त्यहाँको व्यवहार र अन्य देशसँगको सम्बन्धका विषयले राष्ट्रवादका विभिन्न आयामलाई सङ्केत गर्दछन् ।
यी त केही उदाहरण मात्र हुन् । राष्ट्रवाद विभिन्न देशहरूमा फरक–फरक रूपमा प्रकट हुन्छ र यसको सफलता देशको इतिहास, संस्कृति र राजनीतिक प्रणालीमा निर्भर गर्दछ ।
निष्कर्ष
राष्ट्र र राष्ट्रवाद मानव इतिहासका दुई महत्त्वपूर्ण शक्ति हुन् । यिनीहरूले मानिसलाई एकताबद्ध गर्न र समाजलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर यिनीहरूलाई बुझ्नु र सही तरिकाले प्रयोग गर्नु आवश्यक छ । उग्र राष्ट्रवादले द्वन्द्व निम्त्याउन सक्छ, त्यसैले हामीले सधैँ सहिष्णुता र समझदारीलाई बढावा दिनुपर्छ ।
आत्मपरक तत्त्वहरूमा साझा इतिहास, सामूहिक स्मृति, बलिदान र सँगै बस्ने, बाँच्ने र सहकार्य गर्ने इच्छा पर्दछन् । साझा इतिहासले मानिसहरूलाई आफ्नो विगतप्रति गर्व गर्न र राष्ट्रिय गौरवको भावना जगाउन मद्दत गर्छ । सामूहिक स्मृतिले महत्त्वपूर्ण घटना र व्यक्तित्वहरूलाई सम्झन्छ । बलिदानले राष्ट्रका लागि गरिएको त्यागलाई दर्शाउँछ । सँगै बस्ने इच्छाले वर्तमानमा एकताबद्ध भएर भविष्यमा पनि सँगै रहने चाहनालाई जनाउँछ । तसर्थ राष्ट्र एक जटिल र परिवर्तनशील अवधारणा हो । यो कुनै स्थिर वस्तु नभएर निरन्तर परिवर्तन भइरहने प्रक्रिया हो ।
राष्ट्रवादले विश्वमा सकारात्मक र नकारात्मक दुवै खालका प्रभाव पारेको छ । यसले एकता र पहिचानको भावना जगाउँछ, तर यसले द्वन्द्व र विभाजन पनि ल्याउन सक्छ । नेपालका सन्दर्भमा बहुसंस्कृतिमा आधारित राष्ट्रवादको अभ्यास नै सुहाउँछ । उक्त शैलीले सबै नागरिकलाई राष्ट्रप्रतिको अपनत्वबोध गराई साझा भावनाको जागृत गराउँछ । राष्ट्रमा सबैका लागि स्वीकार्य हुने नेपाली भाषा र यहाँका अन्य आदिम संस्कार तथा शैली एवम् परम्परालाई राष्ट्रवादसँग जोडिएमा नेपालको राष्ट्रवाद पनि अमेरिकाको झैँ एकैचोटी ज¥याकजुरुक भई उठ्ने छ ।
भारतको पत्रकारिता झैँ साझा स्वर भई जाग्ने छ । चिनको झैँ योजनाबद्ध समृद्धिमा लाग्ने छ । जापानको जस्तो अन्तरसंस्कृति र श्रमको संवर्धन हुने छ । अनि सबै नेपालीमा साझा नेपालीत्वको भावना मुखरित हुने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति