पथरी, ७ जेठ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा रहेर सृजना क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले आफ्नो १६ औं स्थापना दिवस स्थानीय सपोर्ट पुनर्स्थापना केन्द्रमा मनाएको छ ।
बुधबार एभरेष्ट आर्टमा आवद्ध तथा स्थानीय पञ्चायत माविमा ललितकला अध्ययनरत विद्यार्थीहरुले वडा नम्बर २ मा रहेको पुनर्स्थापना केन्द्रमा उत्प्रेरणामूलक आकर्षक चित्र बनाएर स्थापना दिवस मनाइएको हो । सो केन्द्रमा साँझ त्यहाँ दुर्व्यसन त्याग्दै नयाँ जीवनतर्फ मोडिएकाहरुले अतिथिहरुको स्वागतमा गीत प्रस्तुत गरेर आफैंले आफैंलाई उत्प्रेरित समेत गरे ।

एभरेष्ट आर्टका संस्थापक अध्यक्ष सरोजा खड्गी, सचिव आशिष गिरी, पञ्चायत माविका ललितकला शिक्षक सञ्जु थापा मगरसहितको उपस्थितिमा सल्लाहकार भूपेन्द्रराज तिम्सिना, उपाध्यक्ष दीपक ढुंगाना दियालो, सदस्य लक्ष्मीप्रसाद फूयालसहितले मन्तव्य तथा गजल, रुबाईसहितका उत्प्रेरणामूलक सिर्जना प्रस्तुत गर्नुभयो । केन्द्रमा हाल रहेका २५ जना सहभागिले चाख मानेर सृजनात्मक गतिविधिमा सहभागिता जनाएका थिए ।
केन्द्रका सञ्चालक विपिन गुरुङले एभरेष्टमार्फत उपहार स्वरुप पेन्टिङ निर्माण गर्दै स्थापना दिवकै कार्यक्रम केन्द्रमा आयोजना गरी सहभागिलाई उत्प्रेरित गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । एभरेष्ट आर्ट ०६६ सालमा स्थापना भई कला र साहित्यका क्षेत्रमा समिश्रणका रुपमा गतिविधि गर्दै युवा पुस्तालाई उत्प्रेरणा भर्दै आएको छ ।









