ए,
दारासिङ, किङकङ, फाइटरेन् वा
सालाई होपसाङ लाइटरेन् वा ।
पूर्वी नेपालमा लाग्ने मेला, हाटबजारमा कुनै समय पालाममा किस्साहरुमा दिवंगत दारासिङ यसरी बाँच्थे । सामुदायिक भावार्थमा दारासिङ एक सामुदायिक प्रतिनिधित्वको दृष्टान्त थिए कसो ।
हामीलाई, हामीले ’हामी हिडिआएको बाटोको कथा’ भन्नु थियो । समयको कथा भन्नु थियो । समाजको विकासक्रममा मानिससंग जोडिएका मानवशास्त्र, समाजशास्त्र, भू–अर्थराजनीति कहनु थियो, केलाउनु थियो समयको अवयबहरु । यसैको सन्दर्भमा समाजका तत्कालिन भूँइपात्र कर्ण बहादुर उर्फ दारासिङको जीवनसंघर्षलाई दृष्टान्त पार्यौँ । फालेलुङ पियेम्;देन हुँदै पृथ्वीनगर र झोडा सट्टाभर्नाको पथरी मोरङसम्म यथेष्ट–कथ्य संकलनमा लाग्यौँ । अन्ततः तय भयो ’‘उर्फ दारासिङ’।
बुझ्दै जाँदा समाजमा सुनिआएको किस्साहरु भन्दा भिन्न लाग्यो तत्कालीन समयको कथा र उनले व्यतीत गरेको समय । तत्कालिन समय यस्तो थियो, जतिबेला पहिल्यैदेखि सामुदायिक भोगचलनको रुपमा रहिआएको किपट खारेज भएको थियो । राजनीतिक रुपमा भूतपूर्व सैनिकहरुलाई बिभाजित पारिदै थियो । भाषा, लिपि, सांस्कृतिक पक्षहरुमा जवरजस्त बन्देज हुँदै थियो । मुख्य कुरा, सामुदायिक एकतामा –फुटाउ राजनीतिको नीति अवलम्बन गरिँदै थियो । यसैको कोपभाजनमा परेका प्रतिनिधि पात्र हुन्‘दारासिङ’ । मानिसको असल र खराब दुबै प्रबृत्ति हुन्छन् नै । नाटकको कथासार, तत्कालीन समयको कथा नै हो जहाँ समाज, राज्य, संस्कृति, रहनसहन इत्यादि जोडिन्छ ।
फेरि भनौँ, दारासिङ प्रतिनिधि पात्र हो । अलिकति राज्यको कारणले, अलिकति आफ्नै अन्जानले । यो चौहद्दिमा फैलिएका आम नेपालीहरु –राजनीतिक कोपभाजनमा अब हामी ’दारासिङ’ बन्न अभिशप्त छैनौं ।
(लिङ्देन, हाल मण्डला थिएटर काठमाडौंमा मञ्चन जारी नाटक ‘उर्फ दारासिङ’का लेखक हुनुहुन्छ ।)









