काँकरभिट्टा, २५ पुस । झापाको मेचिनगरमा निर्माणधिन होटलमा काम गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ६ बजेर ३० मिनेटको समयमा मेचिनगर नगरपालिका–१० धुलाबारी स्थित न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गर्दै गरेको ईष्टन होटलको चौथो तलामा फलामको पाइप सार्ने क्रममा कामदार अचानक तल खसेका थिए।
लडेर गम्भीर घाइते भएका सप्तरी जिल्ला खडक नगरपालिका–१ सिसुवाबेल्हि घर भई अन्दाजी २१ वर्षका नरेश कुमार मण्डललाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएको थियो। तर उपचारकै क्रममा साँझ ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट प्रहरी निरीक्षक नकुल राज गौतमको कमाण्डमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।









