शोक स्मृति

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी ।
छोइरहेनि नदेखिने बतास भयौ तिमी ।
‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो । कृषालाई त्यो खबर सुनाउँदै गर्दा भक्कानिएर सुनाएँ । उनी पनि अत्तालिइन् । तुरुन्तै भाइको कोठातिर हानियौं । भाइलाई काठमाडौं गएको बेला उतै प्रेसरले हानेको रहेछ । होटलमा बसेको बेला प्रेसरले हानेर होटलवालाले हस्पिटल पुर्‍याइदिएको खबर बुहारी दुर्गाले सुनाइन् । ज्यादै तनाव भयो । तत्कालै अपरेशन नगरे ज्यान जाने अवस्थाको डरलाग्यो अवस्था सुनाएपछि पढ्न उतै रहेकी छोरी दिलासाले चाँडो अपरेशनको प्रक्रिया थाल्न अनुमति दिँदै कागजमा हस्ताक्षर गरिदिइन् ।

 

२०८२ फागुन १२ गते राति करिब ११ बजेको समयमा भक्तपुरको जडिबुटीस्थित एक होटलको कोठामा छटपटाइरहेको अवस्थामा भाइ दीपेन्द्रलाई होटलवालाले उद्धार गरेछ । राति साढे ८ बजेसम्म यता घरमा बुहारीसँग बोलेर सुतेको मान्छे राति उच्चरक्तचापको प्रहारले खै कतिबेला ढल्यो पत्तो भएन । त्यो बेला उ एक्लै थियो । राति उ बसेको कोठा छेउको कोठामा बस्न ग्राहक आएछन् र होटलवालाले त्यो कोठा खोलिदिन आउँदा भाइको कोठाभित्रबाट असहज आवाज आएको सुनेछ । त्यसपछि ढोका ढक्ढक्याएर के भयो भनेर सोधेछन् । भित्रबाट उस्ले आफू बिरामी परेको सुनाएछ । ढोका खोल्नु भन्दा ‘म खोल्न सक्दिन’ भनेपछि ढोकाको चेपबाट चिहाएर हेर्दा उ भूँइमा लडिरहेको देखिएछ । होटलवालाले प्रहरीलाई खबर गरेछन् । प्रहरी आएर अवस्था बुझेर भित्र चुकुल लगाएको ढोका फोरेर हेर्दा दिशा, पिसाब र बान्ता भएको अवस्थामा भाइ फेला परेछ । होटलवालाले घर परिवारको नम्बर मागेछन् । ‘होस् फोन नगर्दिनु अत्तालिन्छन्, मलाई त्यस्तो केही भएको होइन’ भन्दै एकछिन नम्बर दिन मानेनछ । के हो ? कस्तो मान्छे हो, केही भयो भनें आफूलाई पनि समस्या होला भन्ने पनि नलाग्ने कुरा भएन । अनि त्यसरी आफ्‌नो होटलमा बिरामी परेको मान्छेको परिवारलाई खबर गरिदिनु कर्तव्य पनि त हो । यी दुबै कारणले ढिपी गर्दै नम्बर मागेपछि उसले बुहारीको नम्बर दिएछ । बुहारीलाई फोनमा जानकारी गराएपछि होटलवालाले नजिकै रहेको भक्तपुर मोडेल हस्पिटल पुर्‍याइदिएछन् । बुहारीले छोरी दिलासालाई खबर गरिन् । छोरी हस्पिटल पुगेर बाबालाई भेटिन् । डाक्टरले टाउकामा रगत जमेको बताए । छोरी रुन थालिन् । ‘नरुनु मलाई केही हुँदैन’ भनेर उसले भन्यो । जाँच गरेर अपरेशनको प्रक्रिया थाल्दा ३ बजेछ । त्यो बेलासम्म होस् नहराएको मान्छे अपरेशन कक्षमा प्रवेश भयो । छोरी र उसका साथीहरु अपरेशन कस्तो होला भन्दै चिन्ताग्रस्त रुपमा प्रतिक्षा गरे । अपरेशन सफल पनि भएको बताउँदै आँखा छोपिएको, मुखमा पाइप लगाएको अवस्थाको डरलाग्दो स्वरुप भेन्टिलेटरमा भेटन् दियो । त्यो रात आफन्तका नाममा एक्ली छोरी ती सबै अवस्थाको साक्षी भएर पीडामा रुमलिइन् ।

भोलिपल्ट उज्यालो हुनासाथ बुहारी दुर्गाले पथरीबाट प्लेनको टिकट काटिन् । प्लेन ढिलो हुँदै जाँदा दिउँसो २ बजेमात्र काठमाडौं ओर्लिन पाइन् । भाइले सिद्धार्थ बैंकमा पैसा राख्ने गरेको थियो । अन्यत्रको खातामा खास पैसा नभएपछि खर्चका लागि सिद्धार्थको रकम कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भयो । अरुतिर पैसा खोज्नु भन्दा आफ्‌नै खाताको पैसा निकाल्ने पहिलो कोशिषमा लाग्यौं । मैले बैंकको पथरी शाखामा गएर कुरा गरें । भाइको होस् खुलेको छैन । हस्ताक्षर गर्ने अवस्थामा त झन हुँदै भएन । पिन नम्बर अरुलाई थाहा छैन । यो खाले समस्या कसरी समाधान गर्ने भन्ने चिन्ता बैंक शाखा मेनेजर टीका कार्कीले पनि व्यक्त गर्नुभयो । वडाको सिफारिस लिएर आउँदा केन्द्रमा कुरा गरेर केही गर्न सकिएला कि भन्नु भयो । वडा कार्यालयमा अवस्था दर्शाएर बुहारीले इबैंकिङ पिन परिवर्तन गरेर पैसा निकाल्ने गरी सिफारिस बनाइदिन मैले अनुरोध गरें । बंैकिङ विषयमा वडा कार्यालयले पनि सिफारिस दिइहाल्न अप्ठेरो हुने कानुनी त्रास व्यक्त गर्‍यो । बंैकिङ प्रक्रियालाई सहज बनाउने प्रयत्नमा यता उता दौडधुप गर्दा गर्दै त्यो दिन बित्यो । बैंकको अप्ठेरो फुकाउन सकिएन । जसरी भएपनि उपचारको प्रक्रियालाई अझ व्यवस्थित गर्नुथियो । भोलिपल्ट बिहान म पनि काठमाडौं हाँनिए ।

मैले काठमाडौंमा रहेको मेरो ठूली ठूलीआमाको छोरा दुर्गा कोइरालालाई फोन गरेर हस्पिटलमा गएर बिरामीको र उपचारको अवस्था बुझ्‌न पठाएँ । उसले त्यहाँ गएर हेर्दा बिरामीको अवस्था जटिल देख्यो । सीटीस्क्यान सेवा सोही अस्पतालमा नभएकाले त्यस्तो अवस्थाको बिरामी अन्यत्रको अस्पताल लानुपर्ने अप्ठेरो परिस्थिति देखेर त्यहाँबाट डिस्चार्ज गरी काठमाडौं मेडिकल कलेजमा लानुपर्ने कुरा सुनायो । हामीले पनि त्यही सल्लाह गरेर भनसुन गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी) लाने सल्लाह दियौं । बुहारी पनि पुगिन् र १३ गते बेलुका केएमसी सारियो ।

भाइ बिरामी परेको खबर सनसनी फैलियो । मेरो मोबायलमा यति फोन र म्यासेन्जर कल आयो कि बोल्दा बोल्दा स्वर खासिएर म बोल्न नसक्ने भएँ । फोनमा कल आइराख्दा मेसेन्जरमा कल आइरहेको र मेसेन्जरमा कल आउँदा फोनमा कल आइरहेको अवस्थाले दिमाकनै ह्याङ् भयो । टाउको दुखेर गाह्रो भयो । गाडीमा वरपर बस्नेहरुलाई कति डिस्टर्ब भयो भयो । सबैले के भएको भन्दै बिराम सोध्ने गर्दा गाडी नै तनाबले भरियो । त्यसैत भाइको टाउकाको अपरेशन गरेको, त्यो पनि अर्कोदिनसम्म होस नआएको पीडाको अवस्थामा लगातारको कलले म बोल्न नसक्ने भएँ । हुँदा हुँदा मोबायल नै अफ भयो । जेन्जी आन्दोलनमा सडक बत्तिहरु तोडफोड भएर ट्राफिक व्यवस्थापनमा काठमाडौंको सडक जामै जाम । साँझ हस्पिटल पुग्दा बिरामी हेर्ने समय कटिसकेछ । यत्तिकै मन बुझाएँ । अवस्था जटिल छ भन्ने त बुझें ।

घटना थाहा पाउने र केएमसीसम्म पहुँच हुनेहरुले आफैं पनि कुरा गरिसकेछन् । मैले र बुहारीले पनि बाटोबाटै फोनमा चारैतिर भनिसकेका थियौं । भाइ दुर्गा, भाञ्जा सन्तोषहरुले पनि आआफ्‌नो ठाउँबाट पहल गरे । केएमसीमा नेपालमा हुनसक्ने विधि प्रयोग गरेर उपचार गर्न अनुरोध गर्‍यौं । त्यहाँका न्यूरो डाक्टर विदुरसहितका डाक्टरसँग बारम्बार भेट्यौ, कुरा गर्‍यौं । कम्तिमा पनि देशको एउटा प्रतिष्ठित अस्पतालमा ल्याएका छौं, पक्कै सन्चो होला भन्ने आशा गरियो । डाक्टरहरुले पनि हुनेसम्मको पहल गरिरहे । देश विदेशबाट चिन्ता र शुभेच्छा प्रकट भए । देशमै चिनिएको लेखकका हिसाबले पनि भाइप्रति चौतर्फी चासो थियो ।

दिन वित्दै गए । तर भाइको अवस्थामा केही पनि सुधार भएन । होस् आउने छाटछन्दै छैन । एक दिन हातको औंला थोरै चलेजस्तो देखियो । अर्कोदिन बुहारीले खुट्टाको औंला पनि केही चलेको देखिछिन् । ढिलो गरी होस् घुरेका घटनाहरु पनि सुनेका थियौं । डाक्टरले पनि अवस्था जटिल भएपनि ढिलो होस् फर्किएका घटनाहरु पनि छन् भने । घरमा बुबा आमालाई अत्यन्तै तनाब छ । औंलो चलेको भन्ने कुराले थोरै आशा पलाएछ । २ दिनसम्म त ‘अलि केही सुधार हुँदैछ’ भनेर ढाँट्यौं नि । २ दिनपछि त ढाँटिरहने अवस्था पनि हुँदैन भनेर चिन्ता गरिरहँदा बुबाले नातिनी दिलासालाई नै फोन गरेर बुझ्‌दा दिलासाले होसै नफर्किएको र चिन्ताजनक अवस्था भएको बाहेक अरु भन्ने ठावैं थिएन । त्यसपछि बुबाआमाको खाने, सुत्ने क्रम झन् बन्द भयो । फेरि दुबैजना बढी प्रेसर भएको समस्याले औषधी खानु हुन्थ्यो । अब बुबाआमाको पनि प्रेसर बढेर समस्या हुनसक्ने चिन्ताले ज्यादै सतायो । बुबाआमालाई कृषाले सम्हाल्ने कोशिष पनि विफल भइरहेको थियो ।

प्रत्येक दिनको डाक्टरको बिरामीको अवस्थाका बारेमा जानकारीसहितको परामर्श (काउन्सेलिङ) मा अवस्था बुझ्‌दै गयौं । डाक्टरको पाटोबाट पहिलेदेखिनै खासै आशाजनक कुरा आइरहेको थिएन । औंला चलेजस्तो देखिएको चाँहि होस् आएर नभइ बेहोस्‌मै सामान्य तरंगमात्र आएको र त्यो त्यस्तो बिराममा केही हुने गर्दोरहेछ । औंला होस् आएर नचलेको बुझेपछि बल्न खोजेको दियो पनि यत्तिकै निभेसरह भयो । तर आशाको दियो भनें मनले निभ्न दिएको थिएन ।

मुखमा भेन्टिलेटर पाइप र नाकमा झोल पदार्थ खुवाउने पाइप जडान थियो । क्यानलाबाट एकैपटक ४,५ वटा स्लाइनका बोतलबाट औषधि चढारहेको विद्रुप अवस्था देखिन्थ्यो । झट्ट हेर्दा मान्छे चिन्नै गाह्रो र कहालीलाग्दो अवस्था देखिन्थ्यो । क्यानला लगाएको देब्रे हात बेडको बारमा कपडाको टुक्रोले यसो बाँधिएको थियो । अचानक झट्का आएर हात चल्यो भने क्यानला तथा मुख, नाकको पाइपमा असर पार्ला भनेर त्यसो गरेको रहेछ । आउनसक्ने झट्काबाट हुने असरको प्रतिक्षा यत्तिकै भयो । त्यो झट्का आएर बरु पाइपहरु निस्किने अवस्था भए, पाइप त फेरि व्यवस्थित बनाउन सकिन्थ्यो भन्ने लाग्यो । छ दिनसम्म कुर्दा पनि त्यस्तो कुनै झट्काले चमत्कार गरेन । सातौं दिन राति देखित भेन्टिलेटरमार्फत चलेको मुटुको गति १४ अंकको मापनमा झरेको रहेछ । अघिल्लो दिनसम्म घ्याँर घ्याँर आवाज आएको स्वासको गति सिथिल र सामान्य चलोजस्तो मात्र देखियो । जतिवटा औषधि दिएपनि त्यो दिनसम्म टाउकाको प्रेसर जति घट्नुपर्ने हो, त्यति नघटेर समस्या भइरहेको अवस्थामा त्यो दिन चाँहि अचानक प्रेसर पनि घटेर उल्टै प्रेसर बढाउने औषधि दिनु परेछ । त्यो दिन मुटुको सास त २ पटक झिनो रुपमा मात्र देखिएछ । दिमागको अवस्था पनि ज्यादै झिनो मात्र देखियो ।

डाक्टरहरुले भोलिपल्ट बिहान र अलिपछि अर्कोपटक गरी हामीलाई २ पटक बोलाएर काउन्सेलिङ गरे । अघिल्ला दिनहरुका काउन्सेलिङहरुमा डाक्टरको पाटोबाट आशा बढ्दो कुरा आएको थिएन नै । त्यो दिन त अब उपाय लागेन भन्ने आशयमा काउन्सेलिङ भयो । जब प्रेसरले हानेर दिमागमा रगत जम्यो, त्यो नै आफैंमा जटिल अवस्था सिर्जना भयो नै । त्यसलाई अपरेशन नगर्दा पनि जटिल र गर्दा पनि निको हुने सम्भावना कम हुने अवस्था डाक्टरहरुले अझ प्रष्ट्याए । उनीहरुले ३ दिनपछि देखिनै निको हुने सम्भावना कम भएको संकेत गरिसकेका थिए । तर कुनैमा चमत्कारिक हिसाबका घटना पनि हुनसक्ने झिनो भरलाई प्रमुख आशा मानेर बस्दै आएकोमा अब चाँहि कुनै चमत्कार बाँकी रहेन भन्नेमा पुगिसक्यौं । जटिल रोगका विरामीलाई समेत उपचार गरेर चमत्कार नै गर्दै आएको चर्चामा रहनु भएका मेरा पुराना साथी भरत भट्टराई (सीमान्त केशी) ले पनि सोही दिन बिहान भाइलाई हेर्न भ्याउनु भयो । दिमाग र मुटुको झिनो अवस्था पनि घटिरहेको बेला भरतजीले स्थिति अस्तिबाटै नाजुक रहेको निर्क्यौलमा आशाप्रद कुरा गर्न सक्नु भएन । अर्थात अब उ भेन्टिलेटरले मात्र सास चलेजस्तो भएको अवस्थामा पुगिसकेछ ।
त्यो दिन पथरीकै स्वास्थ्य क्षेत्रमा जानकार भाइ रविन्द्र अधिकारीले विरामीको अवस्था देखेर हरेस खानु भयो । दुर्घटनामा आफू मरेर बाँचेका उहाँको भाइप्रतिको उच्च मनोबल एकाएक सून्यमा झर्‍यो । तारा पोखरेल भाइ र विपिन भतिजो सबैको होसहवास् उड्यो । दुर्गा र दिलासातिर हेरेर सम्हालिन गाह्रो भो । जे जसरी भएपनि अवस्था सम्हाल्नै थियो । अरुको अभिभावक म भएकाले जति पीडा भएपनि म अत्तालिएर स्थिति झन् गाह्रो बन्थ्यो । दुर्गा र दिलासा पनि डाक्टरका काउन्सेलिङमा सँगसँगै नै थिए । उनीहरुले पनि अवस्था सबै बुझिसके । दुर्गा भाइ, रविन्द्र भाइ र म के गर्ने, कसो गर्नेमा चिन्तित भएर विभिन्न कोणबाट परिस्थितिको विश्लेषण गर्‍यौं । यदि केही हुने भए त्यतिखेरै भइहाल्थ्यो, त्यत्रो ४ घण्टासम्म होस रहनेनै थिएन । त्यो अवस्थाले जीवन साँचिदिएको होला, उ उठ्नै पर्छ भन्ने तर्क पनि गरियो । तर चिकित्सा विज्ञानलाई हाम्रो तर्कले जित्ने वैज्ञानिक आधार भनें हामीसँग थिएन ।

प्रेसरले हान्ने वित्तिकै थाहापाएर तुरुन्तै सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन पाएको भए अपरेशनको विकल्पका रुपमा अन्यखाले उपचारविधि प्रयोग हुन सक्थ्यो कि ? मेरो जिज्ञासामा त्यहाँका न्यूरोसर्जनले भने ‘विरामीको अवस्था हेरेर हुन पनि सक्थ्यो होला कि ?’ तर समय घट्कीसक्यो । बितेको अवस्थामाथि समीक्षा गरेर फाइदा भएन । उ प्रेसरले हानेको अवस्थामा घरबाट ६ सय किलोमिटर टाढा हुनु र त्यहाँ पनि एक्लै सुतेको अवस्था नै अभिशाप भइदियो । मन बुझाउने आधार पनि गुम्दै गएपछि फेरि डाक्टरलाई भेट्यौं । भेल्टिलेटर निकाल्दा अब उसको मुटुले काम गर्दैन भनेपछि अब हामी अवाक हुने बाहेक केही बाँकी रहेन । अर्थात अघिल्लो दिनदेखि नै भेन्टिलेटरको सहायताले मात्र मुटु चलोजस्तो भएको रहेछ । उसलाई प्रेसरले हानेर नशाहरु फुटे, सबैतिर रगत छरियो । अपरेशन गरेर पाइपबाट निकाल्दा पनि सम्भव नहुनेगरी ब्रेन नै ‘ह्याम्रेज’ भएछ । अस्पतालले निकालेर लान डिस्चार्ज दियो ।

बैंकमा भएको समस्या हल भएन नै । अर्थात आफूसँग पैसा हुँदाहुँदै पनि आफ्‌नै उपचारमा चलाउन नमिल्ने परिस्थिति आइदियो । आखिर पैसा नै सबैथोक होइन भन्ने लाग्दै आएको अवस्थामा झन ज्वलन्त उदाहरण प्रमाणका रुपमा हामीसामु ठिङ्ग उभियो । दुइजना बहिनी, ज्वाइहरु, दुर्गा भाइसहित हामीसँग भएको जोरजाम पार्यौं । दुर्गाले पनि केही जोरजाम पारेर खर्च गर्दै गयौं । अपरेशनमा निकै खर्च लागेपनि केएमसी सरेपछि सहज भयो ।  केएमसीले औषधीको बाहेक अरु रकम छुट गरेर सहयोग पुर्‍यायो । जति दिन राख्नु परेपनि, जे जति खर्च गरेर उपचार गर्नुपरेपनि त्यसलाई अस्पतालले नै व्यहोर्ने हिसाबले अस्पताल तयार थियो । तर पैसालाई पनि बिरामले जित्यो ।

हामीले भेन्टिलेटर भएकै एम्बुलेन्स खोज्यौं । पर्सिपल्ट संसदीय निर्वाचनको दिन पनि थियो । उपत्यका बाहिर त्यसखाले एम्बुलेन्स नजाने अस्पतालले नियम बनाएको जवाफ आयो । निर्वाचनको संघारमा के कसो होला भन्ने डर समेतले हामीले सामान्यखाले एम्बुलेन्स पाउन पनि मुस्किल मुस्किल पर्‍यो । कम्तिमा त्यहाँ राखेजस्तै गरी भेन्टिलेटरकै सहायताले भएपनि सास चलेजस्तो अवस्था घर ल्याइपुर्‍याउने हाम्रो प्रयत्न सार्थक बन्नसक्ने सम्भावना कम भयो । भेन्टिलेटरमा पनि १,२ घण्टाको बाटो मात्र सम्भव हुनसक्ने रहेछ । हाम्रो त ८,९ घण्टा लाग्ने । अक्सिजन लगाएरै भएपनि लैजाऔं भन्ने सल्लाह भयो । दुइवटा अक्सिजन सिलिण्डर बन्दोबस्त भएको एम्बुलेन्स खोज्यौं । अस्पतालले अक्सिजन पम्पिङ गर्ने सामान पनि प्रवन्ध गरिदियो । २०८२ साल फागुन १९ गतेको राति १०ः४५ मा अक्सिजन जोडेर बाहिरिएका हामी १० मिनटसम्म मात्र भाइको घाँटीमा केही स्वासको नसा चलेजस्तो भयो । अर्थात मैले भाइको हात समातेर बसिरहेकै अवस्थामा १०ः५५ मा सासलाई मात्र नभइ अक्सिजनलाई समेत मृत्युले जित्यो । जीवनमा सबैभन्दा ठूलो पीडा भयो । स्तब्ध भयौं । दिमाग सून्य भयो । रगतको नाताको पीडा जत्तिको पीडा केही हुँदैन रहेछ । ४५ वर्षको उमेरमा उसले हामीलाई सदाका लागि छोडेर गयो ।

‘हामी भाइलाई लिएर घर फर्किदैछौं’ मात्र भनेर घरमा फोन गरेपनि हप्तादिनदेखि होस् नआएको मान्छे अब पार नलागेरै घर ल्याएको हो भन्ने अड्कल गर्नु कुनै अप्ठेरो थिएन । हाम्रो फर्काइले घरपरिवारमा होस् हवास् उड्यो । तर केही सास चाँहि होलाकि भन्ने बुबाआमाको झिनो आशा पनि मर्दै बाँच्दै अनि मर्दै गर्‍यो । राति घर, आफन्तमा कसैको पनि आखाँ झिमिक्क गर्ने कुरै भएन । २० गते बिहान ५ः१५ मा रविन्द्र भाइले दीपेन्द्रलाई बचाउन नसकेको कुरा पोष्ट गरेपछि कोलाहल मच्चियो ।

बुहारी दुर्गा, छोरी दिलासा र छोरो दिप्सनका लागि माया, आशा, भरोसा र सपनाको मियो ढल्यो । जन्मदाता बुबाआमाका लागि सन्तान खोसिएकोमा ठूलो बज्रपात भयो । यो खाले बज्रपात यसअघि पनि हाम्रो परिवारमा नपरेको भनें होइन । उ छैटौं सन्तान हो । उ भन्दा माथिका दिदी र दाइ गरी चार जनालाई पहाडमै रहँदा गुमाउनु पर्दा यहीखाले बज्रपात खेप्नु परेको थियो । उनीहरु बढीमा ४ वर्षसम्म मात्र परिवारमा रहे । खस्नेमा मेरो एकजना दिदी, अरु भाइ र बहिनी थिए । त्यही पीडाले बुबाआमाले भाइ र मलाई जोगाउन भन्दै उदयपुर जिल्लाको रुपाटार २ बिजुवाबाट ०३९ सालमा ३ दिनको पैदल यात्रा गरेर साविक शनिश्चरे १ जिरिखिम्ती बसाई झार्नुभयो । म ८ र २०३७ असोज १७ गते जन्मिएको भाई अढाई वर्षको थियो । यतै आएपछि दुई बहिनी जन्मिएर चार सन्तान बनेका थियौं । ससाना हुँदा भएको त्यसखाले वियोगको पीडा खाटा बसेको अवस्थामा यो उमेरको सन्तान गुमाउँदा थपिएको पीडाले बुबाआमाको बृद्ध उमेर र रोगिएको शरीरमाथि ज्यादै ठूलो सकस भयो । आमाको त होस हवास् त्यति फर्किएकै छैन ।

म ढाडको समस्याका कारण भाइलाई सुताएको बेड सिधा हुनेगरी एम्बुलेन्सको भूँइमा उसकै सिरानीतिर सिरानी पारेर लमतन्न सुतेर आएँ । मृत्युकै अवस्थामा भएपनि ११ घण्टा भाइसँगै उही आकार र उही दिसामा एउटै सिनारी जोडेर सुतेर अन्तिम विदाइ गरें । अपरेशनपछिको बेहोस्‌का बेहोस् अवस्था भयो । छोरीसँग बोलेर जब उ अपरेशनका लागि गयो, त्यहीबेलादेखि उ रोकियो । को आए, को गए न केही थाहा हुन पायो ? न हामीले गरेको प्रयत्न र उसको स्वास्थ्यलाभको पुकार उसले सुन्न पायो । न त, उसले आफ्‌ना कामका योजना, आफ्‌ना अरु चाहनाहरु अनि परिवारका लागि केही भन्नै पायो ।

पुस्तककै सन्दर्भमा काठमाडौंमा भएका भेटघाट उसको अन्तिम भेटघाटमा बदलियो । उसलाई प्रेसरले हान्ने दिन पनि दुईजनासँगको भेटको सन्दर्भ फेसबुकमा हालेको थियो । दुवइको श्रमिक बैंककी प्रमुख देश प्रतिनिधि पूर्वकी चेली हेमाकुमारी अधिकारी, जो बिदेशी बैंकको सीइओ हुने पहिलो नेपाली महिला । उहाँ हाल नेपाल व्यवस्थापन संघको अध्यक्ष समेत रहेको कुरा उल्लेख गर्दै आफूले पछिल्लो पटक लेखेको बैंकिङ पुस्तक हस्तान्तरण गरेको फोटो सहितको पोष्ट थियो । त्यसअघिको पोष्टमा मोटिभेशनल स्पिकर मनोज ज्ञवालीसँग पनि उसैगरी भेटघाट गरी पुस्तक हस्तान्तरण गरेको उल्लेख थियो ।

पत्रकारिताबाट लेखनयात्रा :
मैले पत्रकारिता गरेको देखेर त्यही बाटो उसले समात्यो । मैले आइएल सकेर पत्रकारिता थालिहालें । जसले गर्दा बाँकी पढाईमा समस्या भएको थियो । त्यही पेसाबाट भाइ बहिनीलाई पढाउँदै घर व्यवहार चलाउन संघर्ष गर्दै थिएँ म । पहिले पढाई सक्नु र यो क्षेत्रमा आउनु, नत्र पढाई विग्रिएर चौपट हुन्छ भनेर म भन्ने गर्थें । तर उसले पढाइतिर ध्यान नदिएर मैले लेखेको समाचार कतिखेर लुकीलुकी हेरेर भएपनि आफूलाई इच्छा लागेको काममा लागिछोड्यो । ०६० देखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिता थाल्दै पाथीभरा एफएममा समेत समाचार पठाउने गर्‍यो । उ पथरी नै बसेर काम गर्‍यो । बुबाआमालाई हेर्दै म पनि आफ्‌नो काम गर्दै आए । आआफ्‌नो काममा हामी आआफ्‌नै तरिकाले व्यस्त भइरहियो । उसले आफ्‌नो पेशासँग मिल्दो काम ‘छापाखाना’ सञ्चालन गर्‍यो । केही समय विद्युतीय सञ्चारमाध्यमका रुपमा ‘पथरी पेज’ पनि सञ्चालन गर्‍यो । समाचारमा पनि फरक पहिचान बनायो । लामो समय पत्रकारिता नगरेपनि उ पुस्तक लेखनतर्फ आफ्‌नो रुचि मोडेर अघि बढ्यो । सानैदेखि तिक्ष्ण दिमाग रहेको सृजनशील व्यक्तिका रुपमा चिनिन्थ्यो । केही लेख्ने, सुनाउनेसहितका अतिरिक्त क्रियाकलापमा सक्रिय थियो । हाजिरीजवाफ, वक्तृत्वकला, बादविवाद, उद्घोषणकलामा उ अगाडि थियो । सन् २०१५ मा पथरी जेसीजको अध्यक्ष भएर देशभरी संस्थागत सञ्जालसँग जोडिदै सन् २०१७ मा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष दमकका प्रकाश अधिकारीको पालामा ‘नेशनल मिडिया चियरमेन’ भएपछि उसको सम्पर्क गजबले बिस्तार भयो । आफ्‌नो क्षमता र प्रभाव विस्तारसँगै त्यसबाट उसलाई खोजमूलक पुस्तक लेख्न थप बल मिल्यो ।

आफूले देशका कुना कन्दरामा पुगेर खोजमूलक पुस्तकहरु प्रकाशन गर्दा पनि सम्बन्धित पक्षले जति चासो गर्नुपर्ने हो, त्यति चासै नगरको उसले गुनासो गर्ने गर्थ्यो । आफ्‌नै नगरपालिका समेत यस मामलामा अनुदार बनेको उसलाई लाग्थ्यो । पुस्तक पढ्ने भन्दा आधुनिकताका नाममा होटलहरुमा लाखौं खर्च गरेर स्वास्थ्यलाई असर गर्नेखाले खानपिनमा रमाउने समाज निर्माण हुँदै गरेको परिवेशमा पुस्तक बेच्नु निकै चुनौती हुन्छ । आफ्‌नै खर्चले पुस्तक निकालेर त्यसलाई बेचेर खर्च उठाउनु निकै गाह्रो काम उसले पुरा गर्दै आएको थियो । ‘किताब भिडायो’ जस्ता कुरा पनि गरेर किताब किन्ने पैसा रवाफमा फजुल खर्चमा सक्नेहरु पनि नभएका होइनन् । पठन संस्कृतिको विकासमा चासो नभएर अरुका फेसबुके ज्ञान कपि पेष्ट गर्ने स्याल हुइयाँ लहरमा छ मान्छे । यस हिसाबले पनि उसले थाल्दै आएको कामले समय पर्खनु पर्ने अवस्था थियो । समय आउँदै थियो । नगरपालिकाले के कति गर्‍यो, गरेन या बुझ्यो, बुझेन त्यो आफ्‌नो ठाउँमा रह्यो । नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले भने पुस्तक लेखनको क्षेत्रबाट नगरलाई देशमा चिनाउने काम गरेको ठहर गर्दै यो वर्षको नगर श्रष्टा सम्मानबाट उसलाई मरणोप्रान्त सम्मान गर्ने निर्णय गरेको छ । दीपेन्द्रको भन्दा फरक क्षेत्रमा योगदान पुर्‍याउने त्यही स्तरको व्यक्तित्वको निधनमा नगरमा शोक विदा समेत भएको सन्दर्भ र दीपेन्द्रको सन्दर्भ तुलना गरेर समेत सर्जकहरुले विश्लेषण गरे । कम्तिमा देशमै पहिचान बनाएको लेखकले त्यो स्थान नपाएको गुनासो व्यक्त भए ।
स्थानीय संघ संस्थाको मात्र नभएर पालिका, प्रदेश र संघका निर्वाचन परिणामका खबरहरु छिटो अपडेट गरेर अरुको मन जित्नेमा उ अग्रणी थियो । सामाजिक र राजनीतिक विकृति, समस्या मात्रै नभएर समाधानका उपायहरु पनि उसका लेखमा आउँथे । उ लेखनको सृजनशील अभियानमा सामेल भएर नगरमा सबैभन्दा बढी पुस्तक प्रकाशित गर्ने लेखकका रुपमा आफूलाई उभ्याएको थियो ।

१४ कृति प्रकाशित, योगी नरहरिनाथको कृति अधुरो
उसको प्रकाशित कृतिहरुमा :, टेलिफोन डायरी (२०६८) मोरङको सामुदायिक वन एक चिनारी (२०६९) मोरङको क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८) धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) मोरङका जनप्रतिनिधि संङगालो (२०७९) “माइखोलादेखि पुनर्वाससम्म“ (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) गुमनाम एक इतिहास बिसे नगर्ची दोस्रो संस्करण (२०८१) र नेपालको बैंकिङ इतिहास (२०८२) रहेका छन् । योगी नरहरिनाथको विषयमा पुस्तक तयार गर्न केही सामग्री संकलन भएको थियो ।

‘गुमनाम एक इतिहास बिसे नगर्ची’े गोरखामा पढाइ
पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा लेखिएको ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ गोरखा नगरपालिकाले स्थानीय पाठ्यक्रमका रुपमा अध्यापन गराउने भएको गोरखा ठिमिरे स्वारा निवासी शिक्षक केशरसिंह बस्नेतले भाइलाई नै जानकारी गराउनु भएको थियो ।

 

बैशाख ४ गते उ हामीसँग छोडिएको ठीक ४५ दिन बित्यो । उ हामीसँग छैन भन्ने कुरामा विश्वासै लाग्दैन । अझै पनि केही बोल्न र लेख्न गार्हो भइरहेको छ । मन, दिमाग स्तब्ध छ । मृत्यु आफैंमा क्रुर थियो नै र रहिरहन्छ पनि । यसलाई हामी कहिल्यै जित्न सक्दैनौं भन्ने थाहा छ । तर पनि अचेल मृत्यु झन् झन् बढी क्रुर बन्दै गएको छ । उमेरमै मृत्युले रहरहरु मारिदिने र आशाको दियो निभाइदिने गर्न थालेको छ । पहिले पहिले त बृद्ध अवस्थामा मात्र मृत्यु आइपुग्थ्यो । हुँदा हुँदा हाम्रो घरमा समेत आक्रमण गरेर तहस नहस बनायो । प्रकृतिको यो क्रूर नियतीसङ्ग सामना गर्ने सामर्थ्य हामी कोहीसंग छैन । हामीले जति कोशिश गर्दा पनि भाइलाई बचाउन नसकेर बिदा गर्नु परेको घटनाले तिम्सिना परिवारको एउटा सृजनशील धरोहर ढलेको छ । सामाजिक हिसाबले पनि देशमै चिनिएको लेखक गुमेको छ । हामीमाझ भौतिक रूपमा बिदा भएपनि लेखनसहितको सृजनात्मक कार्यमा समाजकै लागि समेत उ अमर भएर बाचिरहन्छ । भौतिक रुपमा उसलाई हामीले फेरि पाउँने अवस्था छैन । उ हावा भएर हामीलाई छोइरहेको छ । हामीलाई त्यस्तो अनुभूति सधैं भइरहन्छ । उसले लेखेका १४ वटा कृति मार्फत उ झन् अमर भएर बाँचिरहन्छ भन्नेमा मन बुझाउनु परेको छ । उसको अधुरो काम कति पुरा गर्न सकिन्छ, त्यसमा हाम्रो प्रयत्न रहन्छ ।
लगातार ८ दिनसम्म उपचारको अथक प्रयास गर्दा पनि भौतिक रूपमा बचाउन नसकेर क्रुर मृत्युुको शिकार भएर कीर्तिशेष बनेको भाइप्रति भावपूर्ण श्रद्धाञ्जली । आत्माले शान्ति पाओस् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यी जिल्लाहरुमा ‘हिट वेभ’को संभावना, के भन्छन् त मौसमविद ?

काठमाडौं,८ वैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं,८ चैत । श्रम संस्कृति पाटीद्धारा ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक

मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ अव हतकडी लाग्ला कसको नाडीमा ?

दमक,८ वैशाख । निकै भावुक र उत्तेजक नारा ‘मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ । जेन जी आन्दोलनको बेला यूवाहरुको मुख मुखबाट यो नारा बोलीयो

बार्नेटका पूर्व उपमेयरद्धारा जनप्रतिनिधिको संख्या घटाउन सुझाव

काठमाडौँ,८ चैत । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।