झापा दमक,२२ जेठ।, दमकका एक व्यक्ति दमक चोकमा आज फरक रुपमा भेटिनुभयो ।
गलामा गुट्खा मधु , भोला तथा पराग खाएर फालिएका प्लास्टिकका खोलहरु उनेर माला माला बनाएर लगाउनुभएको छ ।
उहाँको एक हातमा समेत सोही प्रकृतिको माला झुन्डाइएको छ भने अर्को हातमा चाहिँ प्लास्टिकको गमलामा राखिएको एउटा बिरुवा बोकिएको छ ।
यी सामाग्री आफ्नो शरीरमा भिरेर हिड्ने ब्यक्तिको नाम हो गणेश प्रसाद गौतम । गौतम पेषाले ट्याक्सी चालक हुनुहुन्छ भने सामाजिक सचेतना जगाउन जीवन चक्र समाज नामक सस्था खोलेर विभिन्न अभियान समेत चलाउने गर्नु भएको छ ।
शुक्रबार विश्व वातावरण दिवसको अबसरमा देखिएको यो दृश्यले सबैको ध्यान खिचेको थियो ।
अझ उहाँले लगाउनु भएको टिसर्टमा लेखिएका दुई नारा थप ससक्त सन्देशयुक्त थिए ।
अगाडि लेखिएको थियो ” प्लास्टिक जन्य सामाग्रीको प्रयोगमा न्यूनीकरण गरौ ” र पछाडी लेखिएको थियो बिरोधका नाममा राके जुलुस र टायर बाल्ने काम बन्द गरौ ।
यी वाक्य लेखेर पैदल हिड्दै दमक परिक्रमा समेत गर्नुभएका गौतम भन्नुहुन्छ “प्लास्टिकले हाम्रो वातावरण धेरै प्रदुषण भएको छ, नागरिक सचेतताकालागी मेरो तर्फबाट हुने योगदान र अभियान आफै चलाएको हु । ”
आज देशभर राज्यका विभिन्न तह र तप्काबाट विश्व वातावरण सम्बन्धमा भव्य कार्यक्रम गरिएको भएपनी गौतमको अभियानले सबैको ध्यान खिचेको मात्र छैन एउटा ससक्त सन्देश समेत दिएको छ ।









