सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेटघाट गर्नु भएको छ ।आज भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवारसँग कुराकानी गर्दै राज्य पीडितहरूको साथमा रहेको आश्वासन दिनु भयो । उहाँले पीडित परिवारलाई नआत्तिन आग्रह गर्दै घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताँउनु भयो ।
दुःखद घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले यस कठिन परिस्थितिमा पीडित परिवारलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।उक्त भेटघाटमा सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद नरेन्द्र साह, सर्लाही क्षेत्र नम्बर २ का सांसद रवीन महतो लगायत अन्य संघीय सांसदहरूको समेत उपस्थिति रहेको थियो ।सभामुख सहितको टोलीले पीडित परिवारको अवस्था बुझ्दै उनीहरूलाई आवश्यक सहयोग र राहतका विषयमा आश्वस्त पारेको छ ।










