सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चिकित्सकले दिउँसो १ बजेर २४ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।
जयप्रकाशको पेटमा गोली लागेपछि आन्द्रासमेत बाहिर निस्किएको थियो। घटनाको भोलिपल्ट उनको शल्यक्रिया गरिएको थियो। तर अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि सोही घटनामा घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको पनि मृत्यु भएको थियो। उनलाई न्युरो अस्पताल पुर्याएलगत्तै चिकित्सकले आइतबार राति मृत घोषणा गरेका थिए।
कप्तानगन्जमा दुई समुदायबीच देखिएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए।
घाइतेमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उपचाररत केही घाइतेको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
गोलीकाण्डमा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड, लुटपाट तथा आक्रमणका घटना समेत भएका थिए।
सुरक्षा अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। बुधबारदेखि सुरक्षा निकायको सक्रिय परिचालनपछि अवस्था विस्तारै सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।
यद्यपि सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु अझै जारी राखिएको छ।









