काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ।

बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति पुर्‍याउन थालेपछि वडा कार्यालयले यस वर्ष ९ जना हेरालु खटाएको हो। साथै, खेतीयोग्य जमिनको छेउमा काँडेतारको जाली लगाउने कामलाई समेत निरन्तरता दिइएको छ।

ख्याहामा पछिल्ला तीन वर्षदेखि साउन र भदौमा करिब डेढ महिनाका लागि हेरालु परिचालन गरेर मकैबाली जोगाउने अभियान सञ्चालन हुँदै आएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। हेरालुलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले पारिश्रमिक दिने गरिएको छ।

यस वर्ष धैरैनी, मेयलपानी, रातामाटा र कोटफेरालगायत क्षेत्रमा ६ जना तथा जोगीथुपलगायतका क्षेत्रमा ३ जना गरी ९ जना हेरालु परिचालन गरिएको छ। उनीहरू बिहान उज्यालो भएदेखि साँझ अँध्यारो नहुन्जेल किसानका मकैबारीमा खटिने गरेका छन्।

वडा कार्यालयले हेरालुलाई गुलेली, नक्कली बन्दुक (पोलिपाइप), गोला तथा बारुदलगायत सामग्रीसमेत उपलब्ध गराएको छ। हेरालु परिचालन भएपछि किसानले दिनरात खेतमै बसेर बाली कुर्नुपर्ने बाध्यता केही कम भएको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार दिउँसो बाँदरको समस्या बढी हुने गरेको छ भने रातिको समयमा बँदेल, दुम्सी, मृग र घोरलजस्ता वन्यजन्तु खेतबारीमा प्रवेश गर्ने गरेका छन्। त्यसलाई नियन्त्रण गर्न वडा कार्यालयले काँडेतारको जाली लगाउने कामसमेत अघि बढाएको छ।

किसान पूजा सुनारका अनुसार काँडेतार र जाली लगाएपछि रातिको समयमा खेतमा आउने वन्यजन्तुको प्रवेश केही घटेको छ। ‘अहिले बाँदर हेरालु नभएको भए घरमा बस्न पनि पाइँदैनथ्यो। जतिबेला पनि बारीमै बस्नुपर्ने अवस्था हुन्थ्यो,’ उनले भनिन्, ‘हेरालु भएपछि केही राहत मिलेको छ। तैपनि बाँदरले झुक्याएर बाली खाने समस्या भने अझै छ।’

स्थानीयका अनुसार काँडेतारले घेरिएको क्षेत्रमा विशेषगरी मृग, बँदेल र दुम्सीको प्रवेश घटेको छ। एक वर्षअघिसम्म रातिको समयमा वन्यजन्तुले मकैबालीमा ठूलो क्षति पुर्‍याउने गरे पनि जाली लगाएपछि समस्या कम भएको हेरालुसमेत रहेका किसान रोशन सुनारले बताए।

वडा कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि वन्यजन्तुको समस्या बढी रहेको धैरैनी क्षेत्रमा नमुनाका रूपमा ७ फिट अग्लो र करिब १६० मिटर लामो काँडेतार जाली लगाएको थियो। त्यसबाट बाँदर नियन्त्रणमा समेत सहयोग पुगेको स्थानीय विष्णुबहादुर सुनारले बताए।

उनका अनुसार काँडेतारको जालीमा बाँदर चढ्न कठिन हुने भएकाले खेतीबालीमा प्रवेश घटेको छ। तर, जाली नजिक रहेका रुखबाट भने बाँदर खेतमा पस्ने गरेका छन्। ‘तारको नजिकैको रुख नकाट्दा बाँदर पसेको छ,’ उनले भने, ‘त्यसैले त्यस्ता रुख काट्न पनि सल्लाह दिएका छौँ।’

तार लगाउनुअघि मकै उम्रिएर दुई–तीन पाते हुँदा नै बाँदरले खाइदिने समस्या रहेको स्थानीयको भनाइ छ। बाली जोगाउन नसक्दा कतिपय किसानले खेतबारी बाँझै राख्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।
स्थानीयले मेयलपानीदेखि आरुखर्कसम्म थप काँडेतार जाली विस्तार गर्न माग गरेका छन्। चालु आर्थिक वर्षमा पनि थप ५ सय मिटर क्षेत्रमा काँडेतार जाली लगाउन बजेट विनियोजन गरिएको वडाध्यक्ष पोखरेलले बताए।

वडा कार्यालयको हेरालु परिचालन र काँडेतार जाली विस्तारको प्रयासले वन्यजन्तुबाट हुने खेतीबालीको क्षति कम गर्न सहयोग पुगेको छ। स्थानीयका लागि भने यो अभियान मकैबाली जोगाउने मात्रै नभई वर्षौँदेखि खेतीमा देखिँदै आएको वन्यजन्तुको समस्या समाधानतर्फको स्थानीय प्रयाससमेत बनेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश