काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गर्नु भएको छ।बिहीबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताउनु भयो ।
उहाँले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राख्नु भयो । उहाँले भन्नु भयो, ‘अख्तियारको पदाधिकारी संसदीय समितिमा आउन मिल्छ, तर कुनै प्रधानमन्त्री, मन्त्रीले बोलाउनेबित्तिकै तपाईंहरू नजानुहोस् । अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन । अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ । अख्तियारले आफ्नो मूल्य पूरा गरिरहेको छैन । त्यो पनि आयोगका पदाधिकारीहरूको आफ्नै कारणले हो। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
उहाँले संवैधानिक निकायहरूमा हुने भागबन्डाको राजनीतिसमेत अन्त्य गर्नुपर्ने बताउनु भयो । संवैधानिक निकायहरूमा पूर्वकर्मचारीहरूको बाहुल्य रहेको भन्दै उहाँले त्यस्ता संस्थालाई पूर्व कर्मचारीहरूको ‘क्लब’ बन्न नदिनुपर्नेमा जोड दिनु भयो ।उहाँले भन्नु भयो, ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्वकर्मचारीहरूको क्लब बन्न नदिऔँ । जति संवैधानिक निकाय छन, ती सबै पूर्वकर्मचारीहरूको क्लब वा आयोग बनेका छन् ।’सांसद सिंहले बैठकमा भ्रष्टाचारबाट प्राप्त रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाउनु भयो । उहाँले भ्रष्टाचारबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट सुरक्षित राख्ने प्रवृत्तिप्रति अख्तियारले गम्भीर अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।









