काठमाडौँ , ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोपमा थापालाई पार्टीको साधारण सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनु भयो।
बैठकपछि अध्यक्ष लिङ्देनले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत पार्टीको नाम प्रयोग गरी नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको बताउनु भयो। उक्त समर्थन पार्टीको कुनै पनि प्रकारको औपचारिक निर्णय वा समर्थन नभएको उहाँको भनाइ छ।लिङ्देनका अनुसार पार्टीले पटक–पटक निर्देशन दिँदा पनि प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले निर्देशन उल्लंघन गर्दै पार्टीको तर्फबाट समर्थन रहेको भन्दै पत्र बुझाउनु भएको थियो।पार्टीले स्पष्टीकरण सोध्दा समेत उहाँले समयमै जवाफ नदिएको र समर्थनसमेत फिर्ता नलिएको भन्दै उहाँमाथि कारबाही गरिएको हो ।
उहाँले भन्नु भयो, ‘बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत पार्टीको नाम राखेर नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको विषय पार्टीको कुनै पनि प्रकारको निर्णय र समर्थन होइन। पार्टीले बारम्बार निर्देशन दिँदा पनि निर्देशन उल्लंघन गर्दै प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाउनुभयो। स्पष्टीकरण सोध्दा समयमा जवाफ नदिनुभएको र समर्थन पनि फिर्ता नलिएकोले आजको कार्यसम्पादन समितिको बैठकले उहाँलाई पार्टीको साधारण सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको छौँ।’
अध्यक्ष लिङ्देनले उक्त घटनालाई पार्टी अनुशासन उल्लंघनको गम्भीर विषयका रूपमा लिइएको बताउनु भयो। उहाँले एमालेमाथि विगतदेखि नै सत्ता केन्द्रित गतिविधिका क्रममा अन्य दलहरूबीच चलखेल गर्ने गरेको आरोपसमेत लगाउनु भयो।उहाँले भन्नु भयो, ‘अनुशासन उल्लंघनको विषय हो, त्यो एउटा पाटो भयो। अर्कोतर्फ एमालेले विगतमा जसरी सत्ता केन्द्रित गतिविधिमा दलहरूका बीचमा खेल्ने काम गथ्र्यो, त्यो अहिले पनि गरेको प्रस्ट रूपमा आयो।’लिङ्देनले एमालेले बागमती प्रदेश सरकार निर्माणका क्रममा राप्रपासँग औपचारिक रूपमा सहयोग नमागेको तथा पार्टीलाई कुनै पत्रसमेत नलेखेको बताउनु भयो। पार्टी कार्यालयमा आएर राप्रपाको समर्थन आवश्यक रहेको भन्दै औपचारिक आग्रह नगरी प्रदेशसभा सदस्यहरूलाई प्रभावित गर्ने प्रयास गरिएको उहाँको आरोप छ ।
उहाँले भन्नु भयो, ‘एमालेले पार्टीलाई औपचारिक रूपमा सरकार निर्माणको क्रममा कुनै सहयोगको आग्रह गरेको छैन । कुनै पत्र पनि लेख्ने र पार्टी कार्यालयमा आएर राप्रपाको समर्थन चाहियो भनेर आग्रह पनि नगरीकन प्रदेशसभा सदस्यहरूलाई हातमा लिने खालको प्रयास गरियो। अहिले यो जुन परिणाम बाहिर आएको छ, यसबाट चलखेल भन्ने कुरा प्रस्टै हुन्छ।’अनुशासनको कारबाहीका क्रममा पार्टीभित्र केही फरक मत देखाउने प्रयाससमेत योजनाबद्ध रूपमा भएको राप्रपाको निष्कर्ष रहेको उनले बताए। यद्यपि, पार्टीले यस्ता अनुशासन उल्लंघनका विषयलाई अब गम्भीरतापूर्वक लिने स्पष्ट पार्नु भयो।
लिङ्देनले उद्धव थापामाथि कारबाही गरिसकिएको र पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य नेतामाथि पनि कारबाही हुने चेतावनी दिनु भयो।यसबीच, थापामाथि कारबाही गर्ने निर्णयमा राप्रपाभित्र मतभेद देखिएको छ । बैठकमा नेता कमल थापाले उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेख्नु भएको छ्। उहाँ थापामाथि कारबाही गर्न नहुने पक्षमा उभिनु भएको छ ।









