भद्रपुर,५ भदौ । झापाको भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सर्वपक्षीय भेलाले सिफारिस गर्ने निर्णय गरेको छ।
गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार आज भएको भेलाले यस्तो निर्णय गरेको हो।
भद्रपुर नेपालकै चौथो नगरपालिका तथा वि।सं। २००८ सालमै नगरपालिका बनेको ऐतिहासिक सहर भएकाले यसको भूगोललाई कायम राख्दै आवश्यकताअनुसार सीमाना जोडिएका पालिकाका क्षेत्र समेटेर उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरिएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो।
भेलाले वडा नम्बर ७ को मेची नदीपारि रहेको सीमाना नजोडिएको भूभागलाई सीमाना जोडिएको वडा नम्बर ५ मा समावेश गर्न तथा वडा नम्बर ९ र १० लाई संघीय निर्वाचन क्षेत्र नम्बर ३ मै कायम राख्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ। यस्तै, आवश्यक देखिएका वडाको सीमाना स्थानीय नागरिक र सम्बन्धित वडाको राय लिएर हेरफेर गर्न पनि सिफारिस गर्ने निर्णय भएको छ।
भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको भेलामा उपप्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वनगरप्रमुख, वडाध्यक्ष, उद्योगी, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो।









