काठमाडौं , भदौ ६ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकार निष्पक्ष अनुसन्धानमा जुटिरहेको स्पष्ट पार्नु भएको छ ।शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै मन्त्री गुरुङले अबोध छोरीमाथि भएको क्रूर अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गर्नु भएको छ ।बालिका गुमाउनुपर्दाको पीडा सम्पूर्ण समाजको भएको भन्दै उहाले यस घटनालाई लिएर आमाहरू, महिलाहरू र आम नागरिकमा देखिएको आक्रोशलाई सरकारले पूर्ण रूपमा महसुस गरेको बताउनु भयो।
गृह प्रशासन घटनाको पहिलो दिनदेखि नै सक्रिय रहेको दाबी गर्दै उहाले विगतका अनुभव तथा कमजोरीबाट पाठ सिक्दै अनुसन्धानलाई अघि बढाइएको जानकारी दिनुभयो ।मन्त्री गुरुङका अनुसार मुख्य आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान जारी राखिएको छ । यसका साथै घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको उहाले स्पष्ट पार्नुभयो ।पीडित परिवारको थप जाहेरीका आधारमा अन्य चार जनालाई समेत पक्राउ गरी सोधपुछ भइरहेको गृहमन्त्रीले बताउनु भएको छ । दोषीलाई कडा सजायको माग गर्दै नागरिक स्तरबाट उठेको आक्रोश स्वभाविक भए पनि नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण तत्काल मृत्युदण्ड दिने कानुनी अवस्था नरहेको उहाले प्रस्ट पार्नु भयो ।
तर, बालबालिका तथा महिलाविरुद्ध हुने यस्ता गम्भीर अपराधमा कानुनी बाधा हटाउन सरकार गम्भीर रहेको उहाले उल्लेख गर्नुभयो । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आवश्यक कानुनी संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी गरिरहेको उहाले जानकारी दिनुभयो ।गृहमन्त्री गुरुङले संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न समेत आग्रह गर्नुभएको छ । उहाले आम नागरिकलाई आफ्नो आक्रोशलाई न्यायको शक्तिमा बदल्न र कानुनी अनुसन्धानको प्रक्रियालाई सघाउन अपिल गर्नुभएको छ।










