दमक, ९ असोज । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षमा बचतलाई १ अर्ब १५ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ।
संस्थाको १७औँ वार्षिक साधारणसभामा अध्यक्ष बुद्धिसागर बराल ‘बिमल’ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा संस्थाको हालको बचत ९३ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ। उक्त बचतलाई चालू आर्थिक वर्ष २०८३/८४ मा बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको जनाइएको छ।
त्यसैगरी, संस्थाले हाल ९६ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ। लगानीको रकम बढाएर १ अर्ब २६ करोड रुपैयाँ पुर्याउने योजना रहेको अध्यक्ष बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको शेयर पुँजी हाल १० करोड ९३ लाख रुपैयाँ रहेकोमा यसलाई वृद्धि गरी १३ करोड रुपैयाँ पुर्याउने लक्ष्यसमेत राखिएको छ।
संस्थाले गरेको लगानीको असुलीलाई प्रभावकारी बनाउन नेपालमा विद्यमान कानुनी प्रावधानको अक्षरशः पालना गर्ने जनाएको छ। ऋण असुलीलाई प्रभावकारी बनाउन कर्मचारीसहित सञ्चालकहरूको विशेष समिति परिचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ।
साधारणसभाका क्रममा संस्थाले उत्कृष्ट कर्मचारी, पूर्वसञ्चालक, उत्कृष्ट बचतकर्ता तथा कारोबारीलाई सम्मानसमेत गरेको छ।
सोही क्रममा दमकका सक्रिय युवा पत्रकार सुजन गौतमलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।









